परासी, ३० जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
आज नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले असन्तुष्ट पक्षलाई पनि संवाद र छलफलमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नु भयो ।
देशको अहिलेको परिस्थिति असहमतिको कुरा गर्ने खालको नभएकाले सबै पक्षले अब सहमतिका लागि अगाडि बढ्नुपर्ने नेपालको भनाइ थियो । केही मधेसी दलहरुले सहमतिप्रति असन्तुष्ट नभई पार्टीको स्थान र भूमिकाका विषयमा मात्रै फरक कुरा राखेको नेता नेपालको दाबी छ ।
सहमतिकै विरोधभन्दा पनि उहाँहरुले आफ्नो र आफ्नो पार्टीको भूमिका के त भन्ने विषयमा असन्तुष्ट रहेकाले त्यसलाई पनि सम्बोधन गर्न सकिने नेपालको तर्क थियो ।
जटिलताको सामना गर्न सक्ने हिम्मत नगर्ने हो भने सविधान नै जारी गर्न नसकिने तर्क गर्दै उहाँले केही अनुसूचीलाई थाती राख्दैमा समस्यै पर्छ भन्नु गलत भएको टिप्पणी गर्नुभयो ।
धेरै लामो प्रयासपछि देशले निकास पाएको भन्दै उहाँले अब यो घडीमा सबै क्षेत्रबाट सकारात्मक कुराहरु आउनु पर्ने धारणा राख्नु भयो ।
संविधान जारी भएपछि राष्ट्रपति, सभामुखदेखि सरकार परिवर्तन हुने उहाँले बताउनुभयो । रासस












प्रतिक्रिया