२९ आश्विन २०८३, बिहिबार

त्यसै भारत गएका हैनन् पूर्वराजा ज्ञानेन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-India– सञ्जय बिके

पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न बहानामा भारत जाँदा भारतीय नेताहरुलाई भेटेर आफूलाई पुनर्बहाली गरिदिन हारगुहार गर्ने गरेको कुरा सञ्चारमा आइनै रहेको कुरा हो । हालै पनि उनी भारत भ्रमण सकेर भर्खरै मात्रै नेपाल आएका छन् । ठूला राजनीतिक पार्टीहरुको प्रदेशको विषयमा हुँदै आएको लामो विवाद सुल्झाएर सहमति गरेको चर्चा आइरहेको बेला उनको पनि भारत भ्रमण सकेर फिर्ती आगमनको संयोगलाई विश्लेषकहरुले महत्वपूर्ण तरिकाबाट हेरिरहेका छन् ।

आफूलाई नेपाली जनताले राजाकै रुपमा मानिरहेको र पुनः आफू नेपालको राजा हुँदा जनता राजी नै हुने, त्यसका लागि छिमेकी राष्ट्र र शक्तिको हैसियतले भारतले सहयोग र समर्थन गरिदिनुपर्यो भन्दै भारत भ्रमणमा उनले भारतीय नेताहरुलाई आग्रह गरेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

भारतीय राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) ले सो संस्थाका विभिन्न विभाग अन्तर्गतका नेपालमा रहेका शाखा-प्रशाखाका मुख्य–मुख्य प्रतिनिधि तथा उनीहरुको आँखामा बुद्धिजीवि ठानिएकाहरुलाई तत्कालिन अवस्थामा भारत बोलाएर नेपालबाट राजतन्त्र हटाउन उपयुक्त छ कि छैन भन्ने विषयमा तीनदिनसम्म लामो बैठक गरेको थियो । राजतन्त्र हटाउँदा आफ्नो संस्था र आफ्नो देश एवम् आफ्नो मिसनलाई फाइदा रहेको ठहर गरी भारतले राजतन्त्र हटाउन सहमति दिएको थियो । त्यतिबेला राजतन्त्र फाल्न आफ्नो समर्थन दिने भाजपा, विश्वहिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ लगायतका संगठनहरुले अहिले आएर कतै त्यो निर्णय गलत त थिएन भन्नेमा समिक्षा समेत गरिरहेका छन् ।

राजतन्त्र फाल्न आफ्नो समर्थन दिने भाजपा, विश्वहिन्दू परिषद्, राष्ट्रिय स्वयंसेवक संघ लगायतका संगठनहरुले अहिले आएर कतै त्यो निर्णय गलत त थिएन भन्नेमा समिक्षा समेत गरिरहेका छन् ।

स्मरणीय छ, भर्खरै पनि नेपालको राजतन्त्र हटाएर गणतन्त्र घोषणा गर्ने विषयमा माथि बताइएका संगठनको निकै ठूलो चासोको बैठक ती संगठनका नेपाली प्रतिनिधिहरुसँग भएको थियो । जसमा नेपालबाट ती संगठन तथा शाखाप्रशाखा हेर्ने तत्कालिन कार्यकालका कार्यकर्ताका प्रतिनिधि पुगेका थिए ।

अहिले आरएसएस तथा भाजपा र सम्बन्धित संगठनहरुभित्र विश्वमा क्रिश्चियन, मुस्लिम र बुद्धिष्ट राजा भएपनि विश्वमै एकमात्र हिन्दू राष्ट्र भनेर भनिएको देश नेपालमा राजा नहुँदा विश्वभरका हिन्दूहरुलाई निराशा छाएको भन्दै बहस थालेका छन् । नेपालमा राजा हुँदा हिन्दूस्थानलाई खासै ठूलो कुनै वेफाइदा नभएको उनीहरुको निष्कर्ष छ । क्षणिक राजनीतिक दाउपेचमा दुरदृष्टि नराखी राजा फाल्न भारतले नेपाललाई निर्णायक सहयोग गरेकाले त्यो समग्रमा हिन्दूस्थानकै हितविपरित रहेको अहिले भारतले विशेषगरी माथि भनिएका संगठनहरुले ठहर गरेको कुरा आरएसएसका नेताहरुले बताउन थालेका छन् । यही ठहरलाई सुइँको पाएका पूर्वराजा ज्ञानेन्द्र विभिन्न बहानामा भर्खरै दिल्ली पुगेर आएका हुन् । आरएसएसका एक नेताले भारतीय मिडियालाई बताए अनुसार, ज्ञानेन्द्रलाई भुटानीशैलीको राजा हुन सर्त गरिएको छ । एकअर्को विश्लेषणमा नेपाल मामिला हेर्दै आएका सुवासचन्द पटेलले विश्वमै हिन्दूहरुको एउटा मात्रै भए पनि राजा राख्नुपर्ने भन्ने विषयमा भएको चर्चा जायज रहेको तर भुटानीकरणको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् ।

अर्कोतर्फ नेपालमा जसरी विखण्डनवादीहरुले चलखेल गरिरहेका छन्, जसले गर्दा पनि पूर्वराजा ज्ञानेन्द्रको मनोबल बढेको छ । सोहीकारण उनी भारतलाई रिझाउन, फकाउन र आश्वस्त पार्न उद्दत छन् ।

जनताको आँखामा मात्रै फरक फरक देखाउने गरेका राजनीतिक शक्तिहरु राजावादी र माओवादी भित्रबाट उस्तै उस्तै रहेको र आफ्नो स्वार्थ पूरा हुने हो भने ज्ञानेन्द्रले भूटानीकरण पनि मान्न सक्ने र आफ्नो हातमा शक्ति पाउने हो भने माओवादीले पनि राजा मान्नसक्ने यी दुई शक्तिबीचको अन्तर्सम्बन्धले प्रस्ट्याउँदै आएको इतिहासले देखाइसकेको छ । इतिहासमा पर्दा पछाडिबाट हुने गरेका तथा भएका घटनाक्रम चर्चाहरु आइसकेको हो, जुन कुरामा प्रबुद्धवर्ग स्पष्ट नै छ । बरु प्रजातन्त्रवादी शक्तिलाई यी दुबै तत्व घातकसिद्ध भएका पनि हुन् र अब पनि हुनसक्ने देखिन्छ । विभिन्न एजेण्टवादमा भन्दा पनि नेपालीले, नेपालको संविधानसभाले, राज्यले र सम्बन्धित क्षेत्रले नेपाल र नेपालीको हितको पक्षमा निर्णय गर्न सकुन भन्ने आम नेपाली सर्वसाधारण नागरिकको मनसाय रहेको पाइएको छ ।

हुन त परिस्थिति यति अगाडि बढिसकेको छ कि भारतले चाहँदैमा नेपालमा सबैथोक हुनेवाला छैन् । किनकी नेपाली जनता धेरै नै सचेत र जागरुक भइसकेका छन् । विश्वका जस्तासुकै दबाबका बाबजुद पनि नेपाली नेता पछाडि फर्कने सम्भावना छैन् ।