२९ आश्विन २०८३, बिहिबार

प्रहरीका एआर्इजी जाली नोट काण्डमा मुछिएकै हुन् त ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-shekhar-bajracharya

भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा “Fake note racket: Arrested man says Nepal AIG involved” शीर्षक दिएर समाचार छापिएपछि अहिले यो विषय चर्चामा छ, अनि चर्चामा छन् त्यस समाचारमा उल्लेखित एआइजीपी रमेश शेखर वज्राचार्य । यस विषय ठूला संचारमाध्यमहरुको निम्ति सायद महत्वको विषय बन्न सकेको छैन्, यद्यपि अन्य संचारमाध्यमहरुमा भने दुइथरी धारणा आइरहेका छन् । कतिपय संचारमाध्यमले उनी निर्दोष रहेको दाबी गरिरहेका छन् भने कतिपयले यसमा उनको संलग्नता हुन सक्ने आशयका समाचार लेखेका छन् । अझै कतिपयले एक कदम अगाडि बढेर यस्तो समाचारले गर्दा नेपाल भारतको सुरक्षा निकायहरुमा रहेको सुमुधुर सम्वन्धमा आँच नै आएको भन्ने आशयको समाचार लेखेको पनि पढ्न पाइयो । समाचार लेख्न पत्रकारहरु स्वतन्त्र हुनुहुन्छ अनि लेखिएका समाचारहरुको सत्यताको विषयमा पनि समाचार लेख्ने पत्रकारहरुनै जवाफदेही हुनुपर्छ र पक्कै हुनुहुनेछ । हामीसर्व साधारणले भने यस घटनालाई निम्न ढङ्गले बुझ्न आवश्यक छ ।

१) देशको जिम्मेवार संगठनको विशिष्ठ श्रेणीको अधिकृतको वारेमा संचारमाध्यममा खबर आइसकेपश्चात त्यस समाचारमा सत्य तथ्य छ ? वा छैन भन्ने कुराको निष्पक्ष छानबिन हुनुपर्छ जुन हालसम्म भएको छैन । त्यसैले उनी दोषी छन् भन्ने अनि उनी बिल्कुल निर्दोष छन् भन्ने दुवैखालका भनाइ र लेखाइहरु केवल दाबी मात्रै हुन् ।

Radha-Krishna-Deuja
राधाकृष्ण देउजा

 

२) यो वा यस्ता खालका कुनै प्रकरणको रहस्यको बारेमा आफ्नो आफ्नो ढङ्गले अनुसन्धान गर्न सम्मानित संचारमाध्यमका पत्रकारहरु सदैव स्वतन्त्र रहनु हुन्छ र आफूले अध्ययन अनुसन्धान गर्दा पत्ता लागेको सत्यतथ्य जनतासमक्ष सार्वजनिक गर्न पनि उहाँहरु स्वतन्त्र हुनुहुन्छ । यद्यपि कुनै पनि प्रकारको संचारमाध्यममा समाचार आएकै कारणले न कसैलाई कारबाही गर्न मिल्छ न कसैले पाएको कारबाहीबाट मुक्तिनै पाउन सक्छ । तर, आएको समाचारलाई आधार मानेर जिम्मेवार निकायहरुले यदि अनुसन्धान गर्दा आएको समाचार सत्य ठहर भएमा, कोही दोषी भएमा दोषीलाई कारबाही हुने अनि निर्दोषले मुक्ति पाउन सक्छन् । त्यस्तो पटकपटक भएको छ र हुँदै जानेछ जुन स्वतन्त्र प्रेस भएको देशको सुन्दरता हो ।

३) हाम्रो देशका जिम्मेवार ठाउँमा वसेका व्यक्तिहरुको वारेमा समाचार आएको यो पहिलोपटक हैन्, यस्ता खालका समाचार पटकपटक आउने गरेका छन् । कतिपय अबस्थामा समाचार सत्य ठहर भएका छन् भने कतिपय बेला समाचार केवल समाचारमै सीमित भएका छन् । यस्ता खालका समाचारहरु अनि त्यस्ता समाचारहरुप्रतिको बेवास्ताले पैदा गर्ने संवेदनशीलतामाथि भने अक्सर ध्यान दिइने गरेको छैन् । जब कसैमाथि आरोप लाग्छ भने निज कार्यरत संस्थाको दायित्व हुन्छ उक्त आरोपको तुरुन्त छानबिन गर्ने अनि दोषी पाइएमा आरोपीलाइ कारबाही गर्ने नत्र आरोप गलत रहेको तथ्यसहित आरोपको खण्डन गर्ने । त्यसो गरिदिंदा आरोपी अनि उनका नजिकका आफन्तले पाउने मानसिक पीडा कम हुन्छ, किनकी गरेकै गल्तीको निम्ति आरोपित हुने अनि कारबाही हुने कुरा त बुझ्न सकिन्छ तर गर्दै नगरेको अपराधको आरोपी भएर बस्दाको पीडा आरोप सहने र उसका परिवार अनि आफन्तलाई थाहा हुन्छ ।

अतः उल्लेखित कुराहरुलाइ मध्यनजर गर्दै उपरोक्त प्रकरणको स्वतन्त्र र निस्पक्ष छानबिनको तत्काल थालनी गरिनु उपयुक्त हुन्छ । यदि यस्तो नगरिने हो भने एकथरि मान्छेमा हाम्रो देशको एआइजीपी नक्कली नोटको कारोबारमा संलग्न पो रहेछन् भन्ने धारणा रहिरहनेछ अनि अर्कोतर्फ एआइजीपी वज्राचार्य निर्दोष रहेको ठान्नेहरुलाई भारतीय संचार माध्यमले जानाजान उनलाई बदनाम गरेको जस्तो लागिरहने छ । त्यसभन्दा पनि ज्यादा खतराको कुरा त छानबिनमार्फत यस प्रकरणको छिनोफानो नगरिने हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो देशको सुरक्षा विश्वशनियतामाथि प्रश्नचिन्ह रहिरहने खतरा रहन्छ ।

लेखक: न्युयोर्कमा सुरक्षा विषयमा अध्ययनरत छन् ।