– सुशिल नेपाल
पाल्पा, २९ जेठ । पाल्पाको रामपुर नगरपालिका १५ सिकोडाँडा क्षेत्रका किसानले पालेका कुखुरा रानीखेत रोगले भकाभक मरेका छन् ।
स्थानीय एक पोल्ट्री फर्म सहित स्थानीयले पालेका कुखुरामा रानीखेत रोगको महामारी फैलिएको हो । पोल्ट्री फर्म तथा किसानले पालेका घरपालुवा कुखुरामा वर्डफ्लुपछि विश्वकै दोस्रो महामारी रोग रानीखेत रोगले सताएपछि किसान हैरानीमा परेका हुन् ।
सिकोडाँडाको देउराली पोल्ट्री फर्ममा पालिएका ८ सय कोइलर र १ सय लोकल कुखुरा गरी जम्मा ९ सय कुखुरा रहेकोमा अहिले ८ सय कुखुरा मरिसकेको संचालक टोपबहादुर श्रेष्ठले बताए । बाँकी रहेका कुखुरा पनि रोगले झोक्र्याएको उनले बताए ।
फर्म संचालक श्रेष्ठले एक्कासी कुखुरा मरेपछि जिल्ला पशु सेवा कार्यालय पाल्पामा सम्पर्क गरेपछि रोग पहिचान गर्न कुखुरा लिएर कार्यालयमा पुगेका थिए । जिल्ला पशु सेवा कार्यालय पाल्पाले मरेका कुखुराको पोष्र्टमाटम गरेपछि मात्र रानीखेत नामक रोगको पहिचान भएको हो ।
अहिले फर्ममा मात्र नभएर त्यस आसपासका गाउँका पालिएका अन्य कुखुरामा पनि रानीखेत रोग फैलिएपछि फ्याट्ट– फुट्ट मर्न थालेको स्थानीयबासीले बताएका छन् । ‘वर्डफ्लुपछिको दोस्रो महामारी रोग रानीखेत सरुवा भएकाले झट्ट निको हुन गाह्रो पर्ने भएकाले हामीले सोही अनुसार चनाखो भएर हेरेका छौ’- जिल्ला पशु सेवा कार्यालय पाल्पाका पशुचिकित्सक डाक्टर उत्तम आचार्यले भने ।
रानीखेत रोग लाग्दा कुखुरा झोक्राउने, दानापानी नखाने, सिर रातो हुने, खुट्टामा रातो र निलो देखिने, हरियो रंगको दिशा गर्ने, अण्डा पार्न बिस्तारै कम गर्दै जाने, ज्वरो आउने लगायतका लक्षण देखा पर्ने पशु प्राबिधिकहरु बताउँछन् ।
कुखुरा फर्म संचालन गरेर राम्रो आम्दानी गर्ने सोच लिएका श्रेष्ठको ३ लाखको लगानी डुबेको बताए । गर्मीको समयमा रानीखेत रोगको संक्रमण फैलन सक्ने हुँदा सर्तक रहन र बेलैमा पशु सेवा कार्यालय तथा सेवा केन्द्रमा जानकारी दिन तथा सम्पर्क गरि सल्लाह सुझाब लिइरहन पशु प्राविधिकले आग्रह गरेका छन् ।















प्रतिक्रिया