२९ आश्विन २०८३, बिहिबार

भूकम्पबाट देशका कुन-कुन सडकखण्डमा क्षति भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-sadak-final-finalकाठमाडौँ, २७ जेठ । गत वैशाख १२ गतेको भूकम्पले तीनवटा सडकखण्डमा बढी क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड, पासाङ ल्हामु राजमार्गको राम्चे–स्याफ्रुवेँसी सडक खण्ड र गोरखाको भालुस्वाँरा–लाप्राक सडकखण्डमा बढी क्षति भएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिनुभयो ।

“सडक विभागबाट सडकको अध्ययन गर्न गएको टोलीले यी सडकमा बढी क्षति भएको प्रतिवेदन दिएको छ, अरनिको राजमार्गमा रु ७५ करोड, पासाङ ल्हामु राजमार्गमा रु ६५ करोड र भालुस्वाँरा लाप्राक सडकखण्डमा रु सात करोड बराबरको क्षति भएको छ”– उहाँले भन्नुभयो ।

अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गको क्षति पुनःनिर्माणका लागि चीन सरकारले इच्छा प्रकट गरेकाले कुराकानी भइरहेको मन्त्रालयका सहसचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

देशभरका सडक र पुलमा भूकम्पले रु दुई अर्बको क्षति भएकामा निर्माण गर्न रु तीन अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि उहाँले बताउनुभयो । पुलको विस्तृत अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि अन्तिम लागत निकालिने सडक विभागका महानिर्देशक माधवकुमार कार्की बताउनुहुन्छ ।

“तत्काल पुनःनिर्माणमा जान विभागसँग उपकरणको अभाव रहेको छ, विभागका उपकरण भूकम्पको भग्नावशेष हटाउनका लागि नेपाली सेनालाई दिइएको छ” – महानिर्देशक कार्कीले भन्नुभयो ।

मन्त्रालयअन्तर्गतका १५० इन्जिनियर प्रभावित जिल्लाको क्षतिको तथ्याङ्क सङ्कलन गर्न खटाइएको छ । रासस