२९ आश्विन २०८३, बिहिबार

‘लाज र श्रीमानको कुटाइ खाने डरले मैले कहिलै भन्न सकिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-patheghar

सल्यान, २६ जेठ । सोह्र वर्षकै उमेरमा विवाह गरेकी ढकाडाम– ४ की कुन्ती खड्काको दुई वर्षपछि पाठेघर खस्ने समस्या भयो । सुत्केरी भएको छ दिनमै घाँस काट्न गएकी उनी भिरबाट लडेपछि पाठेघर खस्ने समस्या बल्झियो । लाज र श्रीमान्को डरले समस्या नभनेपछि समस्या भित्रभित्रै विकाराल बन्दै गयो ।

यही समस्याले गर्दा कुन्तीको एउटा सन्तानबाहेक अर्को बच्चा नहुने भएपछि श्रीमान्ले कुटपिट र गाली गर्न थाले । “श्रीमान्बाट गाली र कुटाइ खाने डरले मैले कहिलै पाठेघर खस्ने समस्या भन्न सकिन, उहाँले कुटपिट गरेपछि बरु चुप लागेर माइतीमा गएँ” कुन्तीले भन्नुभयो, “माइतीमा गएर भाइलाई समस्या भनेपछि अस्पताल लगेर रिङ राखिदियो ।”

अर्को बच्चा जन्मिँदा पूरै पाठेघर बाहिर आएको बताउने कुन्तीले त्यसपछि पनि गाली र कुटपिट सहनुप¥यो । श्रीमान्को कुटपिट र गालीकै कारण कुन्तीले १८ वर्षसम्म पाठेघर खस्ने समस्या बल्झाउनुपर्‍यो ।

यस्तै १५ वर्षमै विवाह गरेकी कुपिन्डे– ८ शेराकी ४५ वर्षीया लक्ष्मी ऐरीको पनि अवस्था त्यस्तै भयो, पहिलो सन्तान जन्मेपछि पाठेघर खस्ने समस्याले पीडित बन्नुभयो तर लाजले गर्दा समस्या भन्नुभन्दा पनि रोग लुकाएर बस्न बाध्य हुनुप¥यो । “ पहिले त के भयो थाहा नै पाउन सकिन तर पछि भने पाठेघर खसेको थाहा पाएँ”, लक्ष्मीले भन्नुभयो – “लाजका कारण अस्पतालमा गएर देखाउन सकिन तर समस्या दिन प्रतिदिन बढिरहेको रहेछ ।”

यस्तै समस्यामा रहेका महिलाका लागि अहिले गाउँमै महिला स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएको छ । ओरेक नेपालको समन्वयमा स्थानीय संस्थाले जिल्लाका पाँच गाविसमा महिला स्वास्थ्य परामर्श स्थापना गरी महिलालाई परामर्श दिने काम भइरहको छ । अस्पतालसम्म आएर समस्या भन्न नसक्ने महिलाका लागि गाउँमै महिलाबाट नै परामर्श दिने काम भइरहेको ओरेक नेपालका फिल्ड संयोजक अशोक चौधरीले जानकारी दिनुभयो ।

यसरी स्थापना भएका परामर्श केन्द्रमा ठूला उपचार नहुने भए पनि समस्या हेरेर जिल्ला अस्पतालमा पठाइने गरेको फिल्ड कोअर्डिनेटर चौधरीको भनाइ छ । हप्ताको पाँच दिन सञ्चालन हुने परमर्श केन्द्रमा प्रतिदिन चारदेखि छ जनासम्म महिला परामर्श लिन आउने गरेका छन् ।

जिल्लामा शिशु जन्माएका ३० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको तथ्याङ्क रहेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका डा श्रीराम तिवारीले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्या भएका महिलालाई रिङ राख्ने व्यवस्था भए पनि महिलाले रिङ फेर्न नआउने भएकाले पाठेघरमा सङ्क्रमणको खतरा रहेको छ” – डा तिवारीले भन्नुभयो ।

जिल्लामा रहेका सबै स्वास्थ्य केन्द्रमा पाठेघर खसेकाहरुका लागि रिङ राख्ने व्यवस्था हुन सकेको छैन । “जिल्लामा ४७ स्वास्थ्य केन्द्रमध्ये हालसम्म १८ स्वास्थ्य केन्द्रमा तालिमप्राप्त स्वास्थ्यकर्मी उपलब्ध छन्, आगामी आवदेखि सबै स्वास्थ्य केन्द्रमा रहेका स्वाथ्यकर्मीलाई तालिम दिने योजना छ तर पनि महिला लाजका कारण आफ्नो समस्या खुलस्त भन्न नसक्ने भएकाले उपचारमा समस्या छ”, डा तिवारीले भन्नुभयो । रासस