चितवन, २६ जेठ । नेकपा (एमाले) चितवनले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा परिचालन गरेको राष्ट्रिय स्वयम्सेवक अभियानअन्तर्गत आजसम्ममा भूकम्पपीडितका ७६ अस्थायी घर निर्माण गरेको छ ।
पहिलो चरणमा गएर फर्किएको टोलीले ४२ र दोस्रो चरणमा काम गरिरहेको टोलीले ३४ अस्थायी घरटहरा बनाएको एमाले चितवनले जनाएको छ । अहिले १२ टोलीले कोराक, लोथर, चण्डीभन्ज्याङ, कविलास र दाहाखानी गाविसमा श्रमदान गरिरहेको एमाले चितवन प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारीले जानकारी दिनुभयो ।
टोलीले भूकम्पले भत्किएका भग्नावशेष हटाइ, घरटहराको पुनःनिर्माण, अन्न र काठपातको सुरक्षित व्यवस्थापन, मनोपरामर्श र स्वास्थ्य शिक्षा दिने काम गरिरहेको भण्डारीले बताउनुभयो ।
एमाले चितवनले दोस्रो चरणमा कविलासमा जिल्ला उपसचिव पार्वती रावलसहित कृष्णप्रसाद भुर्तेल र गङ्गा लामा, दाहाखानीमा पार्वती सिलवाल र गोविन्द भट्टराई, चण्डीभन्ज्याङमा प्रकाश ढुङ्गाना, विजय विक र बच्चुराम भट्टराई, कोराकमा राजाराम रेग्मी, हिराबहादुर गुरुङ र उदयचन्द्र अर्याललगायत जिल्ला नेता तथा कार्यकर्तालाई खटाएको छ ।
एमाले वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले जिल्लाको अभियानको निर्देशन र पार्टी जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले संयोजन गरिरहनुभएको छ । जिल्लामा अन्य राजनीतिक दलले पनि युवा परिचालन गरेर घर निर्माणलाई तीव्रता दिइरहेका छन् ।
यसैबीच भूकम्पपछिको राहत सङ्कलन तथा वितरणमा समन्वय गर्दैै आएको सञ्चारकर्मीको अभियान ‘हामीले नगरे कसले गर्ने’ ले धादिङ जोगीमाराका दुई क्षतिग्रस्त विद्यालय राष्ट्रिय मावि खोरभन्ज्याङ र राष्ट्रिय निमावि गोइराङलाई जस्तापाता र टहरा निर्माणका लागि सामग्री प्रदान गरेको छ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा अभियानले खरिद गरेर करिब रु एक लाख ५० हजार मूल्यबराबरको १४ बन्डल जस्तापाता तथा अस्थायी टहरा निर्माणका लागि अरु सामग्री प्रदान गरिएको अभियानका सदस्य पत्रकार राजेश घिमिरेले जानकारी दिनुभयो ।
चितवनको नारायणगढबाट ६० किमी राजमार्ग पार गरेपछि हुग्दीबजारबाट एक घन्टाको कच्ची सडक हिँडेर खोरभञ्ज्याङ पुगिन्छ । जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले त्यहाँको विद्यालयमा रातो स्टिकर टाँसिदिएको छ । पाँच कक्षाकोठामा विद्यार्थी पढाउन नहुने भएपछि एकै कोठामा दुई कक्षा पढाउनुपर्ने बाध्यता उक्त स्कुलमा थियो ।
अभियानलाई हाल जापानमा रहनुभएका देवेन्द्र सापकोटाले रु ५८ हजार ५३०, अलमाइटी इन्टरनेसनल एजुकेसन सर्भिस भरतपुरका प्रमुख हिम्मत पुरीले रु ३० हजार तथा हाल अमेरिकामा रहनुभएका दीपक नेपाल, सुमित्रा बुर्लाकोटी र ध्रुव घिमिरेले रु २० हजार सहयोग गर्नुभएको थियो ।
यस्तै हाल कतारमा रहनुभएका याकुब खानले दुई बन्डल, जापानमा रहनुभएका मिमिन्द्र डल्लाकोटीले दुई बन्डल र प्रशान्त पौडेलले डेढ बन्डल, दक्षिण कोरियामा रहनुभएका राजन डिसी, कतारमा रहनुभएका अनिल सिलवाल र भरतपुरका रेस्टुरेन्ट व्यवसायी जोन कँडेलले एक एक बन्डल जस्तापाता सहयोग गरेको अभियानकर्मी विमल खतिवडाले जानकारी दिनुभयो ।















प्रतिक्रिया