काठमाडौं, २६ जेठ । विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण नेपालमा तीन जनाको मृत्यु भएको छ ।
गर्मीबाट सप्तरीमा दुई र सर्लाहीमा एक जना गरी मंगलबारसम्म तीन जनाको मृत्यु भइसकेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
अत्याधिक गर्मीले बेहोस भएर सर्लाहीको मोतीपुर–८ बस्ने ५२ बर्षीय दिनेश राय यादवको मृत्यु भएको हो । सोमबार टायर गाडामा मलंगवाबाट अलवेस्टर लोड गरी औरही–८ बस्ने रामएकवाल रायको घरतर्फ जाँदै गर्दा अत्याधिक गर्मीले बेहोस भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यस्तै, अत्यधिक गर्मीका कारण सप्तरीमा सोमबारै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार रहेको प्रहरीले जनाएको छ । उनको अत्यधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा एक जना यात्रुको समेत गर्मीका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विक रहेको प्रहरीले जनाएको छ ।
चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि गर्मीबाट भारतमा दुई हजार भन्दा मानिसको मृत्यु भइसकेको छ ।












प्रतिक्रिया