३ कार्तिक २०८३, मंगलबार

माओवादीका मजदुरले केएफसी र पिज्जाहट बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kfcकाठमाडौं, २६ जेठ । बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन) र पिज्जाहटको नेपालस्थित बिक्री केन्द्र (चेन) करिब तीन सातादेखि बन्द छ ।

व्यवस्थापक देवयानी इन्टरनेसनल नेपाल प्रालिले मजदुरबाट असुरक्षा भएको भन्दै दरबारमार्गस्थित केएफसी र पिज्जाहट तथा ब्लुबर्ड मलस्थित केएफसी र पिएचडी रेस्टुराँ अनिश्चितकालका लागि बन्द गरेको हो ।

पूर्ण विदेशी लगानीको उक्त रेस्टुराँ अब सधैँका लागि बन्द गर्ने देवयानी इन्टरनेसनलका निर्देशक रोहित कोलीले बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘मजदुर तथा कर्मचारीबाटै सुरक्षा खतरा भएको छ, ज्यान मार्नेसम्मको धम्की आएको छ,’ उनले भने, ‘त्यसैले हामीले अब सधैँका लागि केएफसी, पिज्जाहट र पिएचडी रेस्टुराँ बन्द गर्ने प्रक्रिया सुरु गरिसकेका छौँ ।’

व्यवस्थापनले ३० वैशाखमा सूचना जारी गर्दै श्रम ऐनको दफा ७७ अनुसार बिक्री केन्द्र बन्द गरेको जनाएको थियो ।

तर, मजदुर तथा कर्मचारीले आफूहरूलाई जानकारी नै नगरी रेस्टुराँ बन्द गरिनु गैरकानुनी भएको बताएका छन् ।

केएफसी र पिज्जाहटमा कार्यरत मजदुर तथा कर्मचारीले सोमबार पत्रकार सम्मेलन गरी बन्द रेस्टुराँ खोल्न अपीलसमेत गरे ।

भूकम्पले सम्पूर्ण नेपालीका साथमा आफूहरूलाई समेत आहत भइरहेको अवस्थामा केएफसी र पिज्जाहट सधैँका लागि बन्द गर्ने घोषणा गरेर व्यवस्थापनले थप तनाव दिएको अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर संघ, देवयानी इन्टरनेसनल नेपाल प्रालि मूल इकाइ कमिटीका अध्यक्ष सीताराम बिकेले बताए ।

‘व्यवस्थापनको गैरकानुनी तथा गैरजिम्मेवारपूर्ण कदमविरुद्ध हामीले श्रम कार्यालयमा समेत निवेदन दिइसकेका छौँ,’ उनले भने, ‘बन्द घोषणा गरिएको यस कम्पनीलाई सुचारु गराउन सबै सरोकारवाला निकाय, युनियनलगायतसँग अपिल गर्दछौँ ।’

अमेरिकी ब्रान्ड केएफसी नेपालमा सन् २००९ को अक्टोबरदेखि काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको थियो ।

सन् २०१२ मा त्रिपुरेश्वरस्थित ब्लुबर्ड मलमा समेत सञ्चालन गरिएको थियो ।

देवयानी इन्टरनेसनलले कुल नौ करोड रुपैयाँ लगानीमा रेस्टुराँ सञ्चालनमा ल्याएको हो ।

नेपालमा सञ्चालनमा रहेको पेप्सीको बोटलर्स बरुण वेभरेज र पार्क होराइजन अपार्टमेन्टमा समेत देवयानीकै लगानी रहेको छ ।