काठमाडौं, २५ जेठ । बैंकिङ कसुरको अभियोगमा कृषि विकास बैंक र एनआइडिसीका कर्मचारी पक्राउ परेका छन् ।
छुट्टाछुट्टै ठगी घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कृषि विकास बैंकका चारजना, एनआइडिसीका एक र अन्य दुई ऋणीलाई समेत शनिबार पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
कृषि विकास बैंक लगनखेल शाखा प्रबन्धक बद्रीराज सुवेदी, उमेशबहादुर राना, ऋण अधिकृत फुरनाम्गेल शेर्पा, कार्यालय सहायक ताराप्रसाद काफ्ले पक्राउ परेका छन् । उनीहरू केही समययता निलम्बनमा थिए ।
त्यस्तै ऋणी धर्मराज भण्डारी पनि पक्राउ परेका छन् ।
उनीहरूले कमसल धितोमा धेरै कर्जा दिएर जानीजानी बैंकलाई नोक्सान पुर्याउने गरी लगनखेल शाखाबाट कर्जा प्रवाह गरेको सिआइबीले जनाएको छ ।
चार करोडबराबरको पनि धितो नभएको अवस्थामा बैंकले अस्वाभाविक रूपमा ६ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उनीहरूले धितोको अधिक मूल्यांकन गरेको, धितो सीमातर्फ ध्यान नदिई ऋणात्मक ब्यालेन्समा जमानत जारी गरेको पनि सिआइबीले बताएको छ ।
कार्यालय सहायकले माथिल्ला कर्मचारीको दस्तखत किर्ते गरी जमानत जारी गर्न लगाएका थिए ।
त्यस्तै एनआइडिसीका एक कर्मचारी र एक ऋणीलाई पनि सिआइबीले पक्राउ गरेको छ ।
बैंकका कर्मचारीको मिलेमतोमा नियम मिचेर कर्जा प्रवाह गरी नोक्सान पुर्याएकोमा यसअघि सिआइबीले एनआइडिसीका केही कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
विभिन्न प्रलोभनमा पारेर ठगीमा संलग्न एक महिला पक्राउ परेकी छिन् । म्याग्दीका मनोजकुमार श्रेष्ठको डेढ करोड पर्ने घरलाई ६५ लाखमा झुक्याएर पास गरी ठगी गरेको आरोपमा पुष्पा दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले श्रीमान् वसन्त शर्मासँग मिलेर बैंकबाट रकम निकालिदिने आश्वासन दिई रकम फिर्ता गरेपछि घर पनि फिर्ता गरिदिने भन्दै झुक्याएर ठगी गरेकाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।















प्रतिक्रिया