नेपाल आमाको आँखाबाट अश्रुधारा तप्प–तप्प खसिरहेका बेला, कति दुखिरहेकेको होला मेरो देशलाई, कति दुखिरहेको होला मेरी आमालाई ? कस्तो भयो होला मेरो देशको सर्वस्व क्षणभरमै भताभुङ्ग हुँदा? कस्तो भयो होला मेरी आमाको त्यो सर्बाङ्ग पलभरमै गल्याम्म ढल्दा । कति पीडा भयो भयो होला आमा ! तिम्रा सुन्दर अवयवहरु क्षतबिक्षत हुँदा। म यही देशको सन्तान, म यिनै आमाको एउटा सन्तति मलाई पनि पीडा बोध भैरहेछ आमा, मलाई पनि दुःखीरहेछ आमा । मलाई त बेस्सरी दुख्यो भने तिमीलाई त झन् कति दुख्यो होला! अब त मेरी आमाको आँखाबाट झर्ने आँशु पनि सकिए । हामी सन्तानका आँशु त बाँकी रहेनन् भने आमाका आँशुले झन् कसरी धानुन् ? सबैका आँखाबाट तप्प–तप्प भएका थोपाहरु जोगिने नेपाल आमाको शरीर क्षतविक्षत भएको यो बेहाल हामी सन्तानका आँखा अगाडि छ तर हामी हाम्रा दृष्टिगोचर लगाउन सकेका छैनौं, हामी सहजै स्वीकार गर्न सकिरहेका छैनौँ । हाम्रो गुनासो छ हे, सृष्टिकर्ता ! हे नाथ ! तिमी यदि कतै छौ र हौ भने, किन हाम्रै आमाको आँखामा मात्र आँशुको भेल हालिदियौ ? किन दुःखको दोबाटोमा हामीलाई फालिदियौ ? कति सुन्दर थियो मेरो देश, कति सौम्य थियो मेरी आमाको मुहार । हामी सन्ततिहरु यही देशको सुन्दरतामा रंगहरु भरिहेका थियौं । आमाको मनमा शान्ति कायम गर्न हाम्रा हरप्रयासहरु अगाडि बढाइरहेका थियौं । तर, त्यो क्यानभासमा रंगहरु भर्नबाट हामी बञ्चित भयौं। थाहा छ, प्रकृतिको लीला अपरम्पार छ तर यो प्रकृति यति धरै निष्ठुर पनि बन्छ भन्ने कुरा पहिलो पल्ट भोगेँ । अहिले त आकाश छानो भएको छ, धर्ती बिछ्यौना भएको छ । नयनलाई एउटा खहरे बनाउँदै बगिरहेछ आशुको भेल सलसलसलसल…मैले अगाडि बताएपनि, अब त त्यो खहरे पनि सुक्दै–सुक्दै गयो, त्यो खहरे खाली एउटा खोल्सा मात्र भयो । आकाशबाट बरबरबरबर.. असिना–पानी खन्निएपछि धर्ति चरचरचरचर….हुँदै बनेको खोल्सामा आकाशबाट झरेको झरी थामियो अनि खोल्सामात्र खोल्सा भयो । त्यस्तै आँखाबाट झर्ने आँशुको झरी पनि थामियो । आँशु सकियो अनि खण्डहर बन्यो नयन मुनिको त्यो आँशु बग्ने खोल्सा ।
देवता बस्ने मन्दिर मात्र भत्किएको हो । साँच्चैका देवता बस्ने मन्दिर, ‘मनको मन्दिर’ जस्ताको तस्तै छ । धरहरा मात्र गर्ल्याम्म भएको हो, मनको धरहरा झनै धेरै बलियो भएर ठिङ्ग ठडिएको छ । हामी नेपालीको मनको धरहरा कहिल्यै ढल्ने छैन । शान्तिका अग्रदुत गौगम बुद्धको घर हो, नेपाल । संसारको सर्वोच्च शिखर सगरमाथा उभिएको देश हो नेपाल। मर्नेहरु मरिगए, बाँचेकाहरुले बाँचेको अर्थ पहिल्याऔं ।
धरहरा गर्ल्याम्म भएको भयो, अरु दर्जनौं सम्पदा क्षणभरमै विलय भए । तर मलाई अहिले पनि धरहरा गर्ल्याम्म भएको कुरा पत्याउन गाह्रो भैरहेछ । किन–किन कहिलेकाँही साँचो कुरा पनि पत्याउन सकस हुँदो रहेछ । नेपाल आमाको सर्वाङ्गमा सुन्दरता थपिरहेको आमाको शिर धरहरा मात्र होइन्, अरु धेरै अंगहरु क्षतविक्षत भए । सबै गर्ल्याम–गुर्लुम्म ढले, छरपस्ट भए यत्रतत्र । आमाको शरीर मात्र होइन्, यिनै आमाको काखमामा तृत्व ग्रहण गरिहेका हजारौँ सन्ततिहरु प्नि एउटा डरलाग्दो भुमरीमा भासिनुपर्यो । हजारौँले आफ्नो ज्यान गुमाए। लाखौं बेघर भए। अब त झन् बर्षायाम सुरु हुने बेला भएको छ खुला आकाश मुनि एउटा त्रिपालको भरमा बर्खे झरीलाई थेक्न कति गाह्रो होला ।
यति ठूलो विपत्ति जो भोगियो र भोग्दै छौँ , सबैलाई मर्नुपर्छ एकदिन, मानवचोला छोडी बसाईँ सर्नुपर्छ एकदिन । संसारको लिला नै यस्तै छ । जे नहुनु थियो त्यही भयो, महाविपत्तिका कारण आकलमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धा–सुमन, घाइते–अपाङ्गहरुको शीघ्र स्वास्थ्य लाभको कामना । अब यस्तो विपत्ति देशले मात्र होइन् सारा संसारले नै कहिल्यै व्यहोर्न नपरोस् । संसारको कुनै पनि मानबलाई यसरी अकालमा आफ्नो देह त्याग गर्नु नपरोस् ।
भौतिक घर भत्कियो त के भो ! हामी थाकेका छौँ, तर हारेका छैनौं । मनको घर भत्किएको छैन्, हामी नेपालीको । ‘म’ होइन्, ‘हामी’ भन्ने भावना सबैमा जागृत गरौं । आपतविपतमा परेकालाई आ–आफ्नो ठाउँबाट सकेको सहयोग गरौं । को पहाडी, को हिमाली र को मधेसी ? छोडौं क्षेत्रियता । त्यागौं सबै बैरभाव र भेदभाव । हामी सबैले मानवताको नातालाई बलियो बनाऔं । नेपाली हामी तब रहन्छौं, जबसम्म नेपाल रहन्छ । मेचीदेखि महाकालीसम्म सबैतिरको एकताको सन्देश विश्वमाझ प्रवाह गरौं । यो दुःखका बेला सहयोग गर्ने सबै सहयोगी, सहृदयीमनहरुलाई कोटीकोटी सलाम गरौं । ढलेको धरहरालाई पाखुरामा जोडौं, भत्किएको मन्दिरलाई छातीमा टासौं अनि पवित्रता र निश्चलताको भावजागृत गर्दै देश निर्माणमा जुटौं । देवता बस्ने मन्दिर मात्र भत्किएको हो । साँच्चैका देवता बस्ने मन्दिर, ‘मनको मन्दिर’ जस्ताको तस्तै छ । धरहरा मात्र गर्ल्याम्म भएको हो, मनको धरहरा झनै धेरै बलियो भएर ठिङ्ग ठडिएको छ । हामी नेपालीको मनको धरहरा कहिल्यै ढल्ने छैन । शान्तिका अग्रदुत गौगम बुद्धको घर हो, नेपाल । संसारको सर्वोच्च शिखर सगरमाथा उभिएको देश हो नेपाल। मर्नेहरु मरिगए, बाँचेकाहरुले बाँचेको अर्थ पहिल्याऔं । रहेकाहरुले यतै भएको आभास गराऔं । नेपाल आमाको मुहारमा दिर्घजीवी हाँसो, उन्मुक्त खुसीको बिजलाई उमारौं । धर्तीभर सद्भाव, सहिष्णुता र एकताको सन्देश फिजाऔं ।
जयहोस् !














प्रतिक्रिया