२८ आश्विन २०८३, बुधबार

किन एमाले प्रवेश गरे रुपन्देहीका राप्रपाका खम्बा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tahir-ali

नरेश केसी

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री दीपक बोहराका दाहिने हात मानिने राप्रपाका एक जना नेता एमालेमा प्रवेश गरेपछि रुपन्देहीको राजनीतिमा तरंग छाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि सक्रिय रहेका रुपन्देहीका नेता ताहिर अलिक अली एमालेमा प्रवेश गरेका हुन् । रुपन्देही क्षेत्र नम्बर १ मा राप्रपाका खम्बाको रुपमा परिचित उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय संगठन विभाग सदस्य थिए ।

राप्रपाका महामन्त्री दीपक बोहराको दाहिने हात मानिएका अलीले छाडेसँगै राप्रपालाई ठूलो झट्का लागेको छ । दशकौंसम्म काम गरेको पार्टी एकाएक छाडेर उनी नेकपा एमाले प्रवेश गरेका छन् । तिनै अलीसँग गरिएको कुराकानी:

एकाएक एमालेमा किन प्रवेश गर्नुभयो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको पार्टी नभएर २, ३ जनाको हालीमुहाली गर्ने पार्टी भएको छ । विनाविचार, सिद्धान्तहीन एउटा क्लब बनेको छ । तर एमाले अडानसहित जनताको पक्षमा उभिने पार्टी भएकोेले पार्टीमा प्रवेश गरेँ ।

राप्रपाको संस्थापक सदस्य भएर काम गर्दाको क्षणलाई कसरी सम्झिनुहुन्छ ?

मलाई गर्व हुन्छ । इमान्दारी, बफादारी र लगनशील भई राप्रपालाई दिएको योगदान सँधैभरी राप्रपामा सम्झना भइराख्छ । अब मेरो घर, परिवार सबै जोश र जाँगर एमाले, देश र जनताको लागि हुनेछ ।

मुलुकमा यति धेरै दलहरु भएतापनि एमाले नै छान्नुको कारण ?

एमालेमा जोश पनि छ, होस पनि छ । अरु पार्टीमा जोश छ तर होस छैन, होस छ तर जोश छैन । एमाले नेतादेखि कार्यकर्तासम्मको आपसी मित्रता एउटा कार्यकर्ताको दुख आफ्नै दुःख हो भन्ने खालको चिन्तन बोकेको र नेपाली जनताको उत्थान कसरी हुन्छ भन्ने सोच बनाएर अगाडि बढेको पार्टी भएको हुँदा मेरो रोजाईमा एमाले परेको हो । अरु पार्टीमा भन्दा एमालेको सोच, विचार सकारात्मक भएको हुँदा पनि म एमालेमा प्रवेश गरेको हुँ ।

तपाईँले छाडेपछि राप्रपालाई के फरक पर्छ ?

मेरो इमान्दारिता, कडा मेहनत, हरेकको दुःख सुखमा सहभागिता जनाउनुले राप्रपाको ९५ प्रतिशत नेता र कार्यकर्ता क्षेत्र नं १ मा मेरो पक्षमा रहेका छन् । जनता मेरो इमान्दारिताप्रति खुशी छन् ।

संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट राप्रपा नेता दीपक बोहरालाई जिताउन मुख्य भूमिका खेल्नुभयो, पार्टी छाड्न खोज्दा उहाँले रोक्नुभएन तपाईंलाई ?

त्यो त प्रष्ट नै छ । मेरो भूमिका दिनरात खटेर मेरो आदरणीय राजनीतिक गुरुलाई जिताउने भयो । तर, उहाँ पहिलाको दीपक बोहरा हुनुहुन्न । मैले उहाँसँग ३७ वर्षसम्म गरेको सहयात्राको जहिले पनि उहाँलाई याद रहनेछ ।

नयाँ पार्टी प्रवेशसँगै यहाँले कस्तो भूमिका खोज्नुभएको छ ?

अब म एमालेमा प्रवेश गरेको छु । मेरो घर परिवार एमाले नै भइसकेको हुँदा मेरो सम्पूर्ण जोश, जाँगर सास रहेसम्म मेरो शरीर पूरै एमालेमै खर्च हुन्छ । पार्टी जुनसुकै भूमिका दिएपनि एउटा सच्चा सिपाहीले देशलाई रक्षा गरे जसरी पार्टीको रक्षा गर्नेछु ।

राप्रपामा आबद्ध सर्वसाधारणलाई के भन्न चाहनुहुन्छ ?

अब राप्रपा पार्टी रहेन । नेपाली काँग्रेसको पुच्छर जस्तै बन्न पुगेको छ । अब समय आएको छ, देशभरका राप्रपाका नेता, कार्यकर्ता जो मलाई राम्रोसँग चिन्दछन्, आउनुस एमाले जनता र कार्यकर्ता दुखपीडामा उभिने पार्टी भएको हुँदा हामीसँग हातमा हात मिलाएर अगाडि बढौँ ।

तपाईँ अल्पसंख्यक मुस्लिम समुदायको परिचित नेता, राप्रपाले भन्दा एमालेले अल्पसंख्यक, मुस्लिम, पिछडावर्ग र धर्मनिरपेक्षताको वकालत गर्ला त ?

धेरै मुस्लिम, मधेसी, दलितलाई थाहा छैन होला, यो सबैको विरोधी पार्टी हो राप्रपा नेपाल । एमाले पार्टी मुस्लिम, पिछडावर्ग र धर्म निरपेक्षमा प्रष्ट अडानमा रहेको छ जस्तो लाग्छ ।