लमजुङ, २२ जेठ । काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका शिव जोशीको विषयलाई लिएर लमजुङमा नेपाली काँग्रेस र एमालेबीच चर्काचर्की भएको छ ।
काँग्रेसको क्षेत्रीय कोषाध्यक्ष परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका युवा नेता शिव जोशीलाई काँग्रेसले भूकम्प पीडितका लागि आएको त्रिपाल एमालेका नवप्रवेशी जोशी लगायतले हिनामिना गरेको काँग्रेसले आरोप लगाएको छ । तर, एमालेमा प्रवेशको लहर देखेर काँग्रेस अशोभनीय आरोपमा उत्रिएको भन्दै एमालेले विज्ञप्ति नै निकालेर प्रतिवाद गरेको छ ।
विवाद यतिसम्म बढेको छ, दैवी प्रकोप व्यवस्थापन समितिको बिहीबारको बैठकमा काँग्रेस र एमाले जिल्ला अध्यक्षबीच चर्काचर्की नै भयो । बैठकमा काँग्रेस जिल्ला सभापति कृष्ण कोइरालाले लमजुङ आएको राहत सामग्री एमालेका केही व्यक्तिबाट चोरी भएको भन्दै विज्ञप्ती पढेर सुनाएका थिए । बैठकमा काँग्रेस सभापति कोइरालाले नेपाली राजदुताबास, बंगलादेशबाट जिल्ला दैवीप्रकोप उद्वार समितिमा पठाएको २५० थान त्रिपाल, ११ बण्डल ब्ल्याङ्केट लगायतका सामग्री एमालेका शिव जोशी, रमेश घले लगायतका कार्यकर्ताले गाडी कब्जा गरी चोरेको आरोप लगाएका थिए । त्यसपछि नेकपा एमालेका जिल्ला अध्यक्ष धनन्ञ्जय दवाडीले कडा प्रतिवाद गरिहाले ।
एमालेले ‘एमालेलाई चोर देखाउने अधिकार तपाईँलाई कस्ले दियो ?’, दवाडीले बैठकमै प्रतिवाद गरे, ‘पार्टीलाई चोर लगाउन मिल्छ ?, चोर प्रमाणित गरेर देखाउनुहोस् म गिरफ्तार हुन तयार छु ।’ उनीहरुबीच लामै समय चर्काचर्की भएपछि काँग्रेस जिल्ला सभापति कोइराला बैठक छाडेर हिँडे ।
त्रिपाल काण्डमा मुछिएका व्यक्तिलाई गिरफ्तार नगर्दासम्म आफू बैठकमा बस्न नसक्ने भन्दै कोइराला बाहिरिएका थिए । कोइरालाले निकालेको विज्ञप्तीमा राहत सामग्री चोरीमा संलग्न दोषीहरुलाई शिघ्र गिरफ्तार गरि कानुनी कारबाही गर्न तथा सो विषयमा छानविन आयोग बनाउन आग्रह गरिएको छ ।
एमाले अध्यक्ष दवाडीले काँग्रेस कार्यकर्ताले राहत सामाग्री वितरणको विषयमा प्रष्टीकरण माग्दै ‘काँग्रेस सभापतिलाई पनि चोर भन्ने कि नभन्ने ?’भनी प्रश्न गरेका थिए । समिभञ्याङमा विनोद अधिकारी र चन्द्र न्यौपानेले जस्ता बाँडेको, तार्कुघाटमा विश्व पौडेलले एन्फाको नाममा राहत बाँडेको र दुधपोखरीका नरबहादुर गुरुङले दिने भनेको ५ सय बण्डल जस्तापाताको विषयमा उनले काँग्रेससँग जानकारी मागेका थिए । ‘चन्द्रबहादुरले ५ सय बण्डल जस्ता डिडिआरसीलाई दिन्छु भनेको सभापति कोइरालाले बैठकमा भन्नुभएको होइन ? खै त त्यो जस्ता ? कोइरालाले बेच्नुभयो भन्ने ? आरोपका लागि आरोपै लगाउन मिल्छ र ?’- दवाडीको प्रश्न थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि काँग्रेसको आरोपको प्रतिवाद गरे । राहत सामग्री कसैबाट पनि चोरी नभएको उनको भनाइ थियो । ‘राहत कसैबाट पनि चोरी भएको हैन ।’ झापाबाट आएको सामग्रीमा ७५ थान बाँझाखेतको खासुरमा बाँड्न स्वीकृति दिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय लमजुङले बिहीबार मध्यान्ह बेसीशहर–९ शेराचोक नजिकै खासुरका एमाले नेता रमेश घलेको डेरा र डेरा अगाडिको सटरबाट १ सय ७५ थान त्रिपाल, ११ बोरा ब्लाङ्केट, ३ बोरा नुन, १ कार्टुन जीवनजल, शिव जोशीको बा ६ च ३८०४ नम्बरको कारबाट ७५ थान त्रिपाल, १० थान झुल र शेराकुनाको एक घरबाट २० थान त्रिपाल र ३ बोरा नुन नियन्त्रणमा लिएको थियो । उक्त त्रिपाल प्रशासनकै सहमतिमा बाँड्न लागिएको एमालेको दाबी छ ।
यता बाँझाखेत गाविसको खासुरस्थित खसुरोधी युवा क्लबले एक विज्ञप्ती प्रकाशित गरि झापाबाट क्लबले ल्याएको सामग्री जिल्ला प्रशासन कार्यालयमा बुझाउने क्रममा अनावश्यक ढंगले भ्रमपूर्ण प्रचारबाजी गरिएको बताएको छ । क्लबका सहसचिव इन्द्रबहादुर घलेले जारी गरेको विज्ञप्तीमा उक्त सामग्री विधिवतरुपमा जिल्ला दैवीप्रकोप उद्दार समितिमा बुझाइएको जनाइएको छ ।
काँग्रेस र एमालेको गतिविधिबाट माओवादी असन्तुष्ट
बैठकमा एमाओवादी अध्यक्ष पारसमणि पौडेलले राहत वितरणमा काँग्रेस र एमालेबाट कहीँ-कहीँ त्रुटि भएको फेला परेको बताएका थिए । ‘कहीँ-कहीँ राहत वितरणमा त्रुटि देखिएको पाइएको छ । त्यसमा पार्टीका मान्छेहरुपनि संलग्न छन, खोजबिन हुनुपर्छ ।’
यस्तै नेकपा–माओवादीका इन्चार्ज मोहनहरि पौडेलले यसअघि तार्कुघाट, मोहोरियाकोट लगेको त्रिपाल सहित केही राहत हराएको भन्दै प्रश्न गरे । उनले राहत ढुवानी भाडामा घोटला भएको विषयमा प्रश्न उठाएका थिए ।
बेसीशहरमा विरोध प्रर्दशन
यस्तै त्रिपाल काण्डको विरोधमा सदरमुकाम बेसीशहरमा केही युवाहरुले विरोध प्रर्दशन गरेका छन । खेमजंग गुरुङको नेतृत्वमा निस्किएका केही युवाहरुले त्रिपाल काण्डको छानबिन गर्नुपर्ने मागसहित मोटरसाइकल ¥याली निकालेका थिए ।
काँग्रेस आत्तियो: एमाले
चोरीको आरोप लगाएका शिव जोशी केही समय अघिमात्रै नेपाली काँग्रेसको क्षेत्रीय कोषाध्यक्ष परित्याग गरी दर्जनौँ कार्यकर्ताका साथ नेकपा एमालेका प्रवेश गरेका थिए । एमाले प्रवेश गर्नासाथ उनलाई एमालेले जिल्ला कमिटीको सदस्यमा मनोनित गरेको छ । काँग्रेस छाडेका रिस साँध्न काँग्रेस अत्तालिएर आफूमाथि प्रहार गरेको जोशीको दाबी छ । ‘एमालेले मलाई राम्रो जिम्मेवारी दिएको छ, मेरो प्रवेशपछि एमालेका युवाहरु उत्साहित भएका छन् । सोही सहन नसकेर काँग्रेस आत्तिएको हो । यो मलाई आरोप लगाएर चरित्र हत्या गर्ने बहानामात्रै हो’– जोशीले दैनिक नेपालसँग भने, झापाबाट ल्याइएको राहत सामग्री जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिमा बुझाउन लैजाँदै गर्दा अनाबस्यक आरोप लगाइयो ।’
यता, नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडीले शुक्रबार विज्ञप्ति जारी एमालेमा प्रवेशको लहरबाट आत्तिएर काँग्रेस अशोभनीय आरोपमा उत्रिएको बताएका छन् ।
यस्तो छ एमालेबाट शुक्रबार जारी विज्ञप्तिः

















प्रतिक्रिया