काठमाडौँ, २२ जेठ । काठमाडौँका डन चक्रे मिलन (मिलन गुरुङ) का मुख्य सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ ।
चक्रे मिलनसँगै राजधानीमा अपराधिक क्रियाकलापमा संलग्न रहेका लमजुङको मालिङ गाविसका बिशाल गुरुङ (छोटा) लाई काठमाडौँको चाबहिल सरस्वतीनगरस्थित डेराबाट नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । सर्वोच्च अदालतले लागुऔषध मुद्दामा १० बर्षको जेल सजाय सुनाए पनि उनी काठमाडौँमा लुकीछिपी गतिविधि संचालन गरिरहेका थिए ।
२०६० साल असोज ३० गते काठमाडौँको चप्पलकारखानाबाट २७ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका गुरुङ काठमाडौं जिल्ला अदातलको २०६१ मंसिर १४ गतेको फैसलाले ५ वर्ष जेल सजाय भुक्तान गरी २०६५ असार ३० गते छुटेका थिए ।
तर, काठमाडौँ जिल्ला अदालतको फैसलालाई उल्टाउँदै सर्वोच्च अदालतले २०६७ कात्तिक २९ गते सोही मुद्दामा गुरुङलाई १० वर्ष जेल सजाय तोकेको थियो । सर्वोच्चको फैसलापछि फरार रहेका उनलाई बुधबार प्रहरीले काठमाडौँको सरस्वतीनगरबाट पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आएको थियो । २०६६ साल असार २८ गते रुपन्देही प्रहरीले चक्रे मिलनसँगै पक्राउ गरे पनि हातहतियार खरखजाना मुद्दामा ती महिना जेल बसी उनी ७५ हजार रुपैँया धरौटीमा छुटेका थिए ।
उनी विगतमा चक्रे मिलनको समूहमा रही मुख्य सहयोगीका रुपमा अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको अभियोग छ ।
















प्रतिक्रिया