नयाँदिल्ली, २१ जेठ । उत्तरपूर्वी भारतमा बिहीबार विद्रोहीले आक्रमण गरी कम्तीमा पनि १७ जना सुरक्षाकर्मीको हत्या गरेको समाचार छ ।
केही वर्षयतादेखि भारतको एक दङ्गाग्रस्त क्षेत्रका रुपमा देखिएको भारतीय उत्तरपूर्वी सो राज्यमा बिहीबार विद्रोहीहरुले एम्बुसमा पारी ती सुरक्षाकर्मीको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यस आक्रमणलाई भारतीय अधिकारीहरुले विगतका केही वर्षयताकै एक ठूलो हत्याकाण्डका रुपमा लिएका छन् ।
उत्तरपूर्वी भारतको मणिपुर जिल्लामा बिहीबार बिहानै उनीहरुले यो आक्रमण गरेका हुन् । सो आक्रमणमा परी अरु १८ जना घाइते भएका छन् ।
विगत लामो समयदेखि सो क्षेत्र हिंसाको चपेटामा परिरहेको समाचारमा जनाइएको छ । यस क्रममा उनीहरुतर्फ भने हताहतको खबर प्रहरीले दिएको छैन ।
मणिपुर प्रहरीका महानिर्देशक सहिद अहमदले भने– मैले यो कुरा निश्चित गर्न चाहन्छु कि बिहीबार बिहानै विद्रोहीहरुले सुरक्षाकर्मीमाथि एम्बुसमा पारी गरेको आक्रमणमा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।
साथै सो हमलामा परेर अरु १८ जना पनि नराम्ररी घाइते भएको उनले जानकारी दिए । उनले टेलिफोनबाट यो समाचार एएफपी समाचार समितिलाई दिएका हुन् ।
उनले भने– गएका केही वर्षहरुमा प्रहरीमाथि गरिएको यो नै एक सबैभन्दा ठूलो हमला थियो ।
तर प्रहरीले सो हमलामा कुन विद्रोहीको हात थियो भन्ने बारेमा भने केही बताएको छैन । कतिपय सञ्चारमाध्यमहरुले माओवादी भनेर लेखेका छन् तर त्यो समाचारको प्रहरीले पुष्टि गरेको छैन ।
चन्डेल जिल्लाका प्रहरी उपरीक्षक एन हिरोजितले भने– विद्रोहीले गरेको एम्बुस हमलामा परी भएको निधनप्रति जिम्मेवारी कसैले लिएको छैन, हमलाकारी को हो भन्ने बारेमा पनि केही थाहा छैन ।
मणिपुर एक विकट जिल्ला हो र त्यहाँ ठूलो सङ्ख्याका र विभिन्न जातीय समूहरुका नागरिक बस्ने गर्छन् । त्यसैले कुनै जातीय समूहले पनि यो आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
तर त्यस क्षेत्रमा लामो समयदेखि माओवादी विद्रोहीले नै यसरी हत्या हिंसा मच्चाइरहेकाले यसमा पनि उनीहरुकै हात हुनसक्ने अधिकांशको अनुमान छ ।
भारतका उत्तरपश्चिमी सातमध्येका छ वटा राज्यमा विगत वर्षहरुमा जारी रहेको हिंसामा परी कम्तीमा पनि पचास हजार नागरिकले ज्यान गुमाइसकेका छन् ।
ती राज्यमा पछिल्लो समयमा भारतीय माओवादीहरुको हिंसा बढी मात्रामा मच्चिएको पाइन्छ । सो हिंसामा परी दशौँ हजारले ज्यान गुमाइसकेका छन् । रासस/एएफपी
















प्रतिक्रिया