काठमाडौं, २१ जेठ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माले व्यापारी पवनकुमार संघाईको अपहरण गर्ने नेता श्यामसुन्दर गुप्तालाई अपहरण मुद्दामा दिएको उन्मुक्तिलाई लिएर न्याय क्षेत्रमा हंगामा मच्चिएको छ ।
व्यापारी संघाईलाई तीन सातासम्म बन्धक बनाई गुप्ताले १ करोड रुपैया फिरौती लिएका थिए । फिरौती लिएपछि मात्र उनलाई मुक्त गरिएको थियो ।
तर न्यायाधीश शर्माले अपहरण प्रयास मात्र भएको भन्दै तीन वर्ष मात्र कैद सजायको फैसला सुनाएका छन् ।
‘प्रमाण नपुगेको भए सफाई दिन मिल्यो,’ एक सरकारी वकिल भन्छन्–‘तर यसरी अपहरण भएको घटनालाई अपहरण उद्योग (प्रयास)मा दोषी ठहर गर्नु अनौठो छ ।’
गुप्ता करिब तीन वर्षदेखि जेलमा बसिसकेको र सफाई दिदा पनि उनलाई खासै फाइदा नहुने र आफू पनि बदनाम नहुने देखेर शर्माले यस्तो फैसला गरेको हुनसक्ने महान्यायधीवक्ता कार्यालयका एक अधिकारी बताउंछन् ।
प्रहरी अधिकारीहरु पनि फौजदारी मुद्दामा यस्तो किसिमको फैसला अहिलेसम्म आफूहरुले थाहा नपाएको बताउंछन् । उक्त घटनामा अपहरण गरेर फिरौती लिएका प्रशस्त प्रमाणहरु मिसिलमा रहेको यूनाइटेड पोष्ट साप्ताहिकले समचार छापेको छ ।
सरकारी वकिलहरुले समेत न्यायाधीश शर्मालाई तत्काल जिम्मेवारीबाट मुक्त गर्न न्यायपरिषद्का अधिकारीहरुलाई आग्रह गरेका छन् ।
महान्यायधीवक्ता कार्यालयले जिल्लाको फैसलाउपर पुनरावेदन अदालतमा पुनरावेदनको तयारी गरेको छ ।
गुप्ता डिल्लिबजारमा जेलमा बस्दा बिरामी भएको बहाना गरी हिमाल अस्पतालमा भर्ना भएर भाग्ने प्रयास गरेका थिए । प्रहरीलाई विषादीयुक्त खानेकुरा दिएर उनी भाग्न खोजेका थिए ।
छोराको योजनामा गुप्ता भाग्न खोजेकोमा बाबु छोरा विरुद्ध नै ज्यान मार्ने उद्योगमा मुद्दा समेत दायर भएको थियो ।
गुप्तापछि लागूऔषध मुद्दा खेपिरहेका काभ्रेली समुहका डन दावा लामालाई पनि उनले उन्मुक्ति दिने तयारी गरेको चर्चा सरकारी वकिल कार्यालयमा छ ।
लामा खैरो हेरोइनसहित पक्राउ परेका थिए । उनै शर्माको इजलाशमा लामाको मुद्दा चलिरहेको छ ।
लामालाई छुटाउन सहयोग गर्दै आएका नेपाली कांग्रेसका सभासद् तिर्थ लामाले शर्मासँग सेटिङ् मिलाउन लागेको चर्चा छ ।















प्रतिक्रिया