३ कार्तिक २०८३, मंगलबार

चैत्यभित्र धातुका बक्समा मान्छेका अस्तु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stupaकाठमाडौं, २१ जेठ । विभिन्न ठाउँमा निर्माण गरिएका सयौ वर्ष पुराना चैत्यभित्र के होला ? सबैमा उत्सुकता हुन्छ तर त्यो रहस्यमै रहन्छ।

वैशाख १२ गते को भूकम्पले भने स्वयम्भू क्षेत्रको मंगलद्वार चैत्यको रहस्य खोलिदिएको छ। भूकम्प गएको केही सेकेन्डमै भत्किएको स्यम्भू महाचैत्यको दक्षिण पश्चिम मंगलद्वार चैत्य (तिब्बती भाषामा टासी गोर्मा) नयाँ तथ्य भेटिएको छ ।

विभिन्न कालखण्डमा गरी तीन पटकसम्म लेयर थपिएको निर्मित यो चैत्यभित्र धातुका बक्समा मान्छेका अस्तु भेटिएको पुरातत्व विभागका अधिकृत देवेन्द्र भट्टराईले बताए।

सामान्य रूपमा ठूला धर्म गुरू (सिद्धपुरूष)को मृत्युपछि अस्तु राखेर यस्ता चैत्य निर्माण गर्ने प्रचलन छ।

‘भगवान बुद्धले पनि महापरिनिर्वाण गर्नुअघि आफ्नो अस्तु राखेर कुनै चोबाटोमा यस्तै चैत्य बनाउन लगाएको इतिहासमा पढ्न पाइन्छ’, उनले थपे, ‘त्यस्तै स्वरुपमा कुनै सिद्धपुरुषको अस्तु भेटिएको छ।’

धातुको बक्सभित्र रहेको अस्तु विभागले सुरक्षित राखेको छ। भग्नावशेषले च्यापिँदा अस्तु देख्न मिल्ने अवस्थामा भेटिएको उनले जनाए। ‘चैत्यको थप अध्ययनका लागि भग्नावशेष पनि सुरक्षित राखेका छौं’, उनले भने।

त्यहाँ १ सय ५० ढुंगाका र २५ वटा माटाका मूर्ति पनि देखिएका छन्। यसबाहेक स–साना चैत्य, मालाका दाना र विभिन्न कालका मुद्रा पनि भेटिएका छन्।

सेतो रङमा प्लास्टर गरिएको र तह–तहयुक्त खोपी भएको यो स्तुपलाई युनेस्कोले पनि अद्वितीय उल्लेख गरेको छ।

मल्लकालीन राजा प्रताप मल्लको समयका मुद्रा र शाहकालीन मुद्रा भेटिएकाले यसको चैत्यको निर्माण तथा संरक्षण प्रयास भएका समय अनुमान लगाउन सकिने उनले बताए।

‘प्रताप मल्लका मुद्रामा अरबिक अक्षर कुँदिएका हुन्छन्, शाहकालीन पनि चिन्न गाह्रो हुँदैन’, उनले भने, ‘त्यसैले मल्लकालीन समयमा निर्मित भएर शाहकालमा पछिल्लो लेयर थपिएको हुन सक्छ।’