काठमाडौँ, २० जेठ । विनाशकारी भूकम्पपछि निकै चर्चामा आएको पुनर्निर्माण प्राधिकरण अन्ततः सरकारले नबनाउने भएको छ ।
राष्ट्रिय योजना आयोगले बुधबार प्राधिकरणको सट्टा उच्चस्तरीय संयन्त्र बनाउन सुझाव दिएको छ । योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेल नेतृत्वको टोलीले बुधवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी प्राधिकरणको सट्टा उच्चस्तरीय संयन्त्र बनाउने प्रस्तावसहितको सुझाव हस्तान्तरण गरेको हो । उच्चस्तरीय संयन्त्रको संयोजक प्रधानमन्त्रीलाई नै बनाउन प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भूकम्प पुनर्निर्माण उच्चस्तरीय समन्वय समिति बनाउन प्रस्ताव गरिएको आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पपछिको अवस्थालाई सम्हाल्न तत्काल पुनर्निर्माण प्राधिकरण बनाउने लगायतका चार वटा प्रस्ताव आयोगसमक्ष आएको उहाँले बताउनुभयो । आयोगले एकमतका साथ प्रधानमन्त्रीलाई आफ्ना सुझाव राखे पनि त्यसलाई ग्रहण गर्ने वा नगर्ने प्रधानमन्त्रीकै हातमा रहेको उहाँले बताउनुभयो ।
महाभूकम्प लगत्तै एमाओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुनर्निर्माण प्राधिकरण बनाउन प्रस्ताव गर्नुभएको थियो । भूकम्पबाट ध्वष्त भएको संरचना निर्माणका अधिकारसम्पन्न स्वयात्त प्राधिकरण बनाउन प्रस्ताव गर्दै उहाँले त्यसको जिम्मेवारी लिन आफू तयार रहेको बताउनुभएको थियो । तर, योजना आयोगको बुधबारको निर्णयले भट्टराईको त्यो इच्छा तुहिने सम्भावना देखिएको छ ।













प्रतिक्रिया