प्राकृतिक बिपत्तिहरु जहाँ त्यही आउने गर्छन् तर त्यसको प्रकृति भने देश र ठाउँ अनुसार फरक हुने गर्छ । प्राकृतिक बिपत्ति रोक्न सक्ने कुरा त रहेको छैन् तर त्यो बिपत्तिपछि हामीले तुरुन्तै गर्नुपर्ने उद्दारका कामहरुको ठुलो महत्व छ । जसले गर्दा ठूलो मानवीय क्षति हुनबाट रोक्ने गर्दछ । त्यति मात्र कहाँ हो र ? त्यो प्राकृतिक बिपत्तिलाइ मानब सृजित कमजोरीमा घोलिन रोक्नु पनि अर्को बिपत्तिलाई निराकरण गर्नु हो ? त्यो निराकरण गर्ने काम दुर्इ प्रकारले हुने गर्दछ ? त्यो हो बिपत्ति आउनुपूर्व र बिपत्ति आइसकेपछि गरिने कामहरु ? जापान जस्तो देशले बिपपत्ति आउनुपूर्व के के गर्ने गर्छन् भन्ने कुरा अहिले बिशेष चर्चा गर्नु भन्दा पनि बिपत्ति आइसकेपछि के के गरे भन्ने कुरा हाम्रो देश नेपालका लागि महत्वपूर्ण देखिन जान्छ ।
सन् २०११ सालको ९ दशमलव १ रेक्टर स्केलको भूकम्पले जापानका भबनहरुमा खासै असर परेको थिएन र पर्ने कुरा पनि भयन । तर भूकम्पले उत्पन्न गरेको सुनामी छालको कारण औपचारिक घोषना अनुसार पन्ध्र हजार आठ सय चौरासी (१५, ८८४) जनाको मृत्यु भयो भने दुई हजार छ सय तेत्तिस (२,६३३) जना बेपत्ता भएका थिए । तर यहाँ हामीले बिर्सन नहुने कुरा के छ भने जापान जस्तो मुलुकमा यति धेरै मानिसले ज्यान गुमाउनु निकै ठुलो कुरा हो किनकी जापानमा बालकहरु बस्ने किन्डर गार्डेनदेखि लिएर बृद्धबृद्धा बस्ने घरहरुमा (जसलाई रोउजिन होम भनिन्छ) प्राकृतिक बिपत आइपर्दा कसरी सुरक्षितस्थलमा गएर आफ्नो ज्यान जोगाउने भन्ने कुराको पूर्णरुपमा अभ्यास गर्ने र गराउने गरिन्छ । हामी नेपालीले जस्तो आफुखुसी मैले त्यो अभ्यास गर्दिन भन्न पाइदैन । हामीले त जे कुरामा पनि आफुखुसीको कुरा र काम गर्ने चलन छ । तर यहाँ जापानमा कसैले पनि मैले गर्दिन भन्न पाउँदैन वा भन्दैन । त्यो प्रकारको अभ्यास अनिबार्य छ । त्यो दण्डनीय छ किनभने पछि विपत आउँदा उसको कारणले अरुले दुःख पाउने हुन सक्छ । प्राकृतिक वा अरु प्रकारको मानबसृजित बिपत पर्दा सुरक्षित रहने बिशेषप्रकारका सेल्टरहरु निर्माण गरिएको छ र त्यो सेल्टरसम्म पुग्नका लागि केटाकेटीदेखि ठूला मान्छेसम्मको लागि नक्शा कण्ठ गराइएको हुने गर्छ । त्यति मात्र हैन्, त्यस्ता नक्शाहरु सार्बजनिक ठाउँहरुमा राखिएको हुन्छ ताकी सबैले सँधै सजिलै जानुन र सुरक्षित बन्न सकुन भन्ने नै हो । विश्वविद्यालयहरुमा त्यो अनुसारको कोर्षहरु अरु थपिने काम हुँदैछ । त्यो अनुसारको अनिबार्य अभ्यास गर्ने र गराउने काम हुने गर्छ । हामी विदेशीले पनि प्रत्येक बर्ष त्यो कोर्स गर्नु पर्ने (कक्षा लिनुपर्ने अनिबार्य छ) वा अभ्यास गरेर देखाउनु पर्ने समेत हुने गर्छ केही ठाउँहरुमा ।
जब जापानमा भूकम्प गएपछि सुनामीले ठूलो असर गर्दै थियो, तब यहाँका सम्पूर्ण मिडिया सुनामीमा केन्द्रित हुँदै थिए । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने अहिले पनि जापानमा सीएनएन र बिबिसी जस्ता समाचारहरु प्रत्यक्ष हेर्न पाइँदैन । रेकर्डमा रहेका निश्चित समाचार मात्र इन्टरनेटबाट सुन्न र हेर्न पाइने गर्छ । कारण के हो भने अरु बिदेशी मिडियाले गर्दा जापानीहरुको संस्कार, संस्कृति र उनीहरुको आफ्नो राष्ट्रियताप्रतिको लगावमा कुनै प्रकारको आँच नआओस् भन्ने नै हो । त्यो सुनामी आउँदै गरेको समयमा सरकारले भूउपग्रहको सहायताले ूरिएल टाइमू मा सुनामीको गति, उचाई र त्यसको दिशा नापेर जनताको सामु पुर्याई राखेका थिए । यस्तो प्राकृतिक विपत्ति पर्दा जापानमा घटनास्थलमा सबैभन्दा बढी प्रयोग भएको चाँहि वायरलेस स्पीकरनै हो । जुन स्पीकर जापानको हरेक गाउँशहरमा सार्बजनिक सूचनाको लागि राखिएको हुन्छ । प्रायःजसो जापानमा महाविपत्ति पर्दा सेल्टरको रुपमा स्कुलको खेलकुद हल या ठूला सार्बजनिक खेलकुद हल, सुपरमार्केटको खाली ठाउँहरु समेत प्रयोग गर्ने गरी तयार पारिएको हुने गर्छ । यसरी जापान सरकारले लगभग चार लाख मानिसहरुलाई तत्कालै त्यस्ता ठाउँहरुमा राख्ने काम गरे ।
तर त्यति धेरै मान्छेहरुलाई सेल्टरमा तत्काल राख्न सकेता पनि उनीहरुको लागि सबैभन्दा ठूलो समस्या भनेको कसरी उनीहरुलाई छिटो सुरक्षित ठाउँमा सँधैका लागि राख्ने भन्ने नै रहेको थियो । सुनामी पीडितहरुमा मानसिक वा अरु कुनै प्रकारको समस्या नआओस् भन्ने कुरामा उनीहरु निकै सतर्क रहे । किनभने मानिसले आफ्नो बासस्थान गुमाइसकेपछि जति धेरै दिन सेल्टरहरुमा बस्नुपर्ने हुन्छ, त्यति नै धेरै विभिन्न प्रकारका तनाब हुने गर्छ । अनि त्यो प्रकारका समस्या अरु थपिँदै जाने हुन्छ । त्यो कुरामा जापान सरकारले र जनताले पनि निकै ध्यान दिने गरे । अर्थात् उनीहरुलाई पहिले नै त्यो जानकारी गराउने काम हुने गर्छ । त्यसको फलस्वरूप कोही जापानी जनता पीडित भएर हिँड्नु परेको छैन् अहिले ।
त्यसैले दिगो समाधानको लागि जापान सरकार र जापानी जनताले निम्न कुराहरु समयमा नै पूरा गरे :
१) कतिपय मानिसहरु आफ्नो नातेदारको घरमा अस्थायी रुपमा बस्न गए र नातागोताको सहयोगमा काम खोजेर उतैतिर स्वतः ब्यबस्थित हुने गरे ।
२) जापान सरकारले पनि भूकम्पपीडित जिल्लाको आसपासको जिल्लाहरुमा रहेका सरकारी भबन अथवा प्राइभेट भबन (तर सार्वजनिकहितको लागि प्रयोग गर्न सकिने जसलाई सिएईज्यूताकु, केनएई ज्युताकु भनिन्छ) को खाली रहेका कोठाहरुमा तुरुन्त राख्न लगाइएको थियो । त्यसको लागि निजी कम्पनीहरु वा मालिकहरुले ती जनताको पुनर्जन्म सम्झेर हार्दिकता साथ स्वागत गरे । त्यसको लागि कुनै बादविवाद वा सरकारसँग कुनै किचकिच वा नाजायज फाइदा लिने मौकाको रुपमा लिने काम गरिएन । कुनै जनताले आफू मर्कामा परेको वा कुनै कम्पनी वा घर मालिकले नियमविपरित भाडा असुल गरेको गुनासो गर्नुपर्ने ता सोच्न पनि परेन ।
३) बाँकी भएका मानिसलाई खाली र सुरक्षित स्थानमा अस्थायी घर केही दिनमा नै निर्माण गरेर (कासेचुज्युताकु) दरिलो ब्यबस्था गरियो । ताकी उसले कुनै मानसिक अबस्थाबाट गुज्रन नपरोस् । यसरी राखियो कि अर्को उचित र दिगो ब्यबस्था नहुन्जेल बस्न मिल्ने घरहरुको निर्माण भएको थियो । जापान त्यस्तो देश हो जहाँ पौष्टिक तर ताजा तयारी खानाहरु बजारमा सजिलै र जताततै किन्न पाइन्छ । लाखौँ जापानीहरुले घरमा खाना बनाउने समेत गर्दैनन् । त्यसको लागि थुप्रै कम्पनीहरुले त्यसको काम गर्ने गर्छन् । जापान एक व्यक्ति एक कामको अबधारणामा चलेको देश हो । जस्तै कुनै मान्छेले कुनै अफिसमा काम गर्छ भने घरमा खाना बनाउने काम गर्दैन् तयारी खाना किनेर खाने गर्छ । उसले खाना बनाउने समय आफ्नो अफिसमै लगाउने गर्छ । यहाँ स्मरण गर्नु राम्रो हुन्छ कि जापानी सरकारले हुन सक्ने कुनै प्रकारको बिपत्तिको लागी भनेर सातबर्षको लागी खाद्यान्न संचित गरेर राख्ने गर्दथे तर अहिले भने तीनदेखि पाँच बर्षको लागि संचय गर्ने गर्दछन् ।
४) यस्तो दुःखद परिस्थितिमा काम र बासस्थान दुवै गुमाउन बाध्य भएका जनताका लागि जापानमा भएका हजारौँ कम्पनीदेखि बिश्वबिद्यालयसम्म उनीहरुको लागि ठूलो प्राथमिकताका साथ आफ्नो कम्पनीमा काम र बासस्थान दुवै दिने काम गरे ।
५) जापान एउटा त्यस्तो देश हो, जहाँ सम्पूर्ण कारोबार बैंकमार्फत हुने गर्छ । सबै जनताले आफ्नो तलब बैंकमार्फत लिने वा दिने गर्छन् । तर सुनामीको कारणले धेरैसँग बैंकको कुनै कागज समेत थिएन तर यस्तो परिस्थितिमा जापान सरकारले बैंकको चेकबुक या कार्ड नभएपनि अरु कुनै सामान्य कागजपत्रको आधारमा वा ब्यक्ति आफै बैंकमा उपस्थित हुँदा समेत पैसा निकाल्न मिल्ने ब्यबस्था गरिदियो । त्यसको परिणामस्वरूप जनता तुरुन्तै अस्थायी घरहरु वा अस्थायी रुपले बसेका स्थानबाट निस्किएर आफ्नो इच्छा अनुसारको ठाउँमा गएर बस्ने ब्यबस्था गरे ।
७) जापान सरकारले तुरुन्तै सुनामी प्रभावित ठाउँका आ आफ्नो ब्यबासय संचालन गरेका
मानिसहरुलाई बिना धितो आठ करोडसम्मको ऋण सुबिधा दिइएको थियो भने त्यो भन्दा बढी रकम चाहिने कम्पनीलाई वा परिवारको लागि (निजी कम्पनी, सानो कम्पनी) कम्पनीको मालिक एकजना मात्रै ग्यारेन्टर बसेर पनि २८ करोडसम्म सहुलियत पूर्ण रुपमा ऋण लिन सक्ने बनाइएको थियो ।
८) अन्तिममा पुनः निर्माण मन्त्रालयको घोषना गर्नुका साथै बिशेष पुनःनिर्माण कर बिभागको घोषना गरियो ।
यसरी तत्काल उसले केही दिनहरुमा गर्नु पर्ने काम सम्पन्न गरिसके पछि त्यहाँ एउटा बिशेष आन्तरिक छलफल गरियो । यहाँनेर स्मरण गर्नु पर्ने कुरा के छ भने त्यो छलफलमा कुनै प्रकारको बाहिर देखिने गरी बादबिबाद भएन । त्यसको कुनै समाचार बन्नु परेन । सम्बन्धित बिशेषज्ञहरुको बीचमा अन्तरक्रिया गरियो र त्यो अन्तरक्रियाबाट तुरुन्त आगामी दिनको प्राथमिकताहरु तय गरेर तत्कालिन सरकारलाई निर्देश वा सुझाब प्रस्तुत गरियो । त्यो सुझाब अनुसार जापान सरकारले तुरुन्त पुनःनिर्माण मन्त्रालयको घोषना गरी त्यसका लागि कुनै विवादबिना एक पुनःनिर्माण मन्त्री नियुक्त गरी पुनः निर्माणको काम सुरु गरिएको थियो । त्यसको साथ साथै सरकारले त्यो सुनामीले प्रभावित ठाउँहरुमा वा शहरहरुमा मानब चहलपहल सुरु गर्नका लागि त्यहाँ प्रवेश गर्ने कर मिनाहा गरिएको थियो । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने जापानमा कर तिर्नु जीवनको एउटा संस्कार हो । त्यो कानुनत स्वतः लाग हुने नै भयो । तर पनि सरकारले जनतालाई आफ्ना मिडियामार्फत सूचना जारी गरेको थियो । त्यहा ँजाउ घुम र त्यहाँको स्थितिमा सहजीकरण गरिदेउ भनेर । त्यसले गर्दा प्रभावित ठाउँहरुमा घुम्न जानेको संख्या अत्यधिक रुपले बढ्ने र अरु ब्यापारिक चहलपहल हुने नै भयो । त्यति मात्र हैन, सुनामी प्रभावित ठाउँको पुनःनिर्माणको लागी भनेर जनताहरुबाट लिइएको करबाट बिशेष पुनःनिर्माण कर नामको बिभागको समेत ब्यबस्था गरियो । यसरी जनताको ब्यबस्थापन समयमा नै गरिसकेपछि अहिले जापान सरकार सुनामीको (भूकम्पको कारणले हैन्) कारणले क्षति पुगेका आणविक भट्टीको पुनःनिर्माण, संचालन र अब आउने दिनहरुमा गर्नुपर्ने कुराहरुको तयारी ठूलो पैमानामा संचालन गर्दैछन् ।
२०११ सालको महाभूकम्प दिउँसो २ बजेर ४६ बजे गएको थियो र तुरुन्त सुनामीको असर देखिन थालेको थियो । जब आपतकालीन उद्धार टिम जापान भर हेलिकप्टरबाट सुनामी गएको ठाउँमा केन्द्रित हुन थालेको थियो, तब समय घर्कँँदै रात पर्न लाग्दै थियो । त्यो समयमा उद्धार टोलीको लागी खराब मौसम र रातको समयले गरी दुर्इवटा कुराले निकै समस्या पारेको थियो । रातको समयमा हेलिकप्टरको उद्धारकर्मीहरुले खराब मौसमको कारण सोचेजस्तो राम्रो उद्धार गर्न नसकेको अनुभव गर्न पुगे । त्यति मात्र हैन्, रातको समयले गर्दा उद्धारको पर्खाईमा रहेको मानिसहरु माथिबाट नदेखिने समस्या महशुस गरे । उता जमीनबाट गएका उद्धारकर्मीहरुले पनि सुनामीले ल्याएको दलदल फोहरको कारण उद्धार गर्न कठिनाई भैरहेको थियो । सुनामीले बगाएर ल्याएका मानिसहरु जसोतसो ज्यान बचाएर उद्धारको पर्खाइमा हुँदा पनि आफूहरुले खराब मौसम र रातको कारण उद्धार गर्न नसकी जनताहरुले ज्यान गुमाउन बाध्य भएको जापानी उद्दारकर्मीहरुले अनुभव गर्न पुगे । त्यहाँ अनुभव मात्र गरेर कहाँ छोडिन्छ र उनीहरुले तुरुन्तै विश्वविद्यालयलाई त्यसको समाधान खोज्न आग्रह गरे । त्यसको समाधान पनि खोजी गरिसकेको अबस्था छ अहिले । अहिले खराब मौसमको समयमा पनि सजिलैसँग देख्न मिल्ने प्रविधिको बिकास गरेर त्यो प्रबिधि जापानी हेलिकोप्टरमा प्रयोग गरेका छन् । त्यति मात्र हो र बिपत्तिमा परेका जनताको तत्काल उद्दार गर्नको लागि जिउँदो मानिस छ भने उसको शरीरको तापक्रमले गर्दा तुरुन्त र टाढाबाट समेत पत्ता लगाउने उपकरणको आबिस्कार गरेर त्यो प्रविधिको बिकास तथा प्रयोग गरिसकेको अबस्था छ । अब हामी पनि यस्तै प्रकारको संबेदनशील बनेर अगाडि बढ्नुको कुनै बिकल्प छैन् त्यसो गरिएन भने हाम्रो भबिष्य अन्धकार हुनेछ । त्यो दिशामा जति सकिन्छ, त्यति भएपनि पाइला चाल्नु हामी सबैको लागि हितको कुरा हुने नै छ ।
लेखकहरु
१) डा. अम्बरिश पोख्रेल, त्रिभुवन विश्वविद्यालय, हालः जापान
२) ई. केशब पोख्रेल, टोकियो, किजिमा कम्युनिकेशन वायर कम्पनी लिमिटेड, टोकियो, जापान
३) डा. भगवती कुँवर पोख्रेल, होक्कैदो विश्वविद्यालय, जापान














प्रतिक्रिया