अहिले ओलीजी सक्षम हुनुहुन्छ कि असक्षम भनेर बिचार गर्न, टेस्ट गर्न लैजाने होइन् । ओलीजी असक्षम नै हुनुहुन्छ भने पनि भोलि सक्षम नेता बनाउने हो ।
राष्ट्रिय सरकारको कुरा कहाँ पुग्यो ?
संविधान बनाउने निश्चित नभएसम्म राष्ट्रिय सररकार गठन हुन सक्दैन । पहिले सबै राजनीतिक दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुनुपर्यो, अनि मात्र राष्ट्रिय सरकारले सार्थकता पाउँछ ।
अहिले विषेशगरी एमाओवादीले एमालेको नेतृत्वमा राष्ट्रिय सरकार जाने भनिरहेको छ । यसको पछाडी कुनै स्वार्थ छ कि छैन ?
विगतको कुरालाई छाड्ने हो भने अहिले प्रचण्डजीले हाम्रै नेताहरुले भन्दा राम्रो कुरा बोल्नु भएको छ । बरु हाम्रो कतिपय नेताहरु जसरी हुन्छ, छिटो सरकारको नेतृत्वमा जाऔँ भन्ने खालको मनस्थितिमा हुनुहुन्छ । राष्ट्रिय सरकारको यत्रो चर्चा चलेको छ । तर पार्टीमा यो विषयमा छलफलसमेत भएको छैन । कम्तीमा यसको बैठक डाकेर छलफल गर्न त सकिन्छ नि । अर्कोकुरा कतिपयले अहिले एमालेलाई फसाउन पनि खोजेका छन्् । अहिलेको संविधान निर्माणको जस एमालेले लिनेवाला छ । उनीहरुले एमालेलाई हुत्याएर एउटा कुनामा पु¥याउन चाहन्छन् ।
अब राष्ट्रिय सरकारको नेतृत्व एमालेकै हातमा हो त ?
संविधान बनेपछि, संविधानको टुंगो लाएपछि नैतिक रुपले पनि काँग्रेसले दाबी गर्नु हुँदैन । किनकी हाम्रो सम्झौता भैसकेको छ । इतिहासमा काँग्रेस सम्झौता पालना नगर्ने बेइमानको रुपमा धेरैपटक परिचित छ । उसले एमालेसँगका लिखित सम्झौतासमेत उल्लंघन गरेको छ । कांग्रेसले अब त्यसो गर्नु हुँदैन । उसले इमान्दारीपूर्वक काम गर्दा एमालेको नेतृत्व सक्षम बन्छ । हो, संविधानको मुद्दाहरुलाई टुंग्याएर बनाइने त्यस्तो सरकारको नेतृत्व एमाले गर्छ ।
उसो भए अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने चर्चा सत्य हो ?
त्यसमा कुनै शंकानै छैन । पहिला हामीले पार्टीकै अध्यक्षलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने, प्रधानमन्त्री बन्नका लागि संसदको दुई तिहाई लिखित हस्ताक्षर लिनुपर्छ भन्ने खालको छुद्र राजनीति गरेका हौँ । अब त्यस्तो हुँदैन ।
पार्टीभित्र त फेरि कुनै प्रकारको छलफल भएको छैन भन्नुहुन्छ ?
छलफल भएको छैन, तर प्रधानमन्त्री हुने उहाँ नै हो । हामी पार्टीको अध्यक्ष प्रधानमन्त्री हुने पद्धतिमै जानुपर्दछ । को बलियो भन्ने कुरा होइन । एमालेको पालो हो, अध्यक्ष भएको हुनाले ओलीजी प्रधानमन्त्री हुने हो ।
केपीलाई अध्यक्ष भएका कारण प्रधानमन्त्री बनाउन लाग्नुभएको हो कि, नेतृत्व क्षमताको आधारमा ?
हामीले पद्धति सुधार्नु पर्दछ । असक्षम छ भने सक्षम मान्छे पार्टीको अध्यक्ष हुने पद्दतिबाट जानु पर्यो । पार्टीकै अध्यक्ष नै पार्टीको संसदीय दलको नेता हुने, प्रधानमन्त्री बन्नेतर्फ जानुपर्यो । अहिले ओलीजी सक्षम हुनुहुन्छ कि असक्षम भनेर बिचार गर्न, टेस्ट गर्न लैजाने होइन् । ओलीजी असक्षम नै हुनुहुन्छ भने पनि भोलि सक्षम नेता बनाउने हो ।
एमालेभित्र प्रधानमन्त्री बन्न लायक अर्को कुनै नेता छैनन् ?
त्यस्तो गर्नु हुँदैन । हुन त होलान् । दुई जना भूपू प्रधानमन्त्री नै छन् । उमेरले, अध्ययनले, लागेका हिसावले तमाम मान्छे प्रधानमन्त्री होलान् । तर अहिले हाम्रो बिधान, पद्धति, परम्परा अनुसार ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ ।
एमालेको नेतृत्वमा सरकारमा जाने विषयमा कांग्रेसको धारणा के बुझ्नु भएको छ ?
काँग्रेस चाँहि थोरै धेरै यही सरकारलाई लम्ब्याउन चाहन्छ । पार्टी महाधिबेशनसम्म लैजान चाहन्छ । त्यहाँ भित्रका कतिपय मान्छेहरुले सुशीललाई कमजोर पार्न चाहन्छन् पनि होला । तर, हाम्रा आन्तरिक झगडा जेसुकै भए पनि मुलुकको निकासका लागि अगाडि बढ्नुपर्छ । सुशीलजीले पनि महाधिवेशनसम्म सरकार लम्ब्याउने कुरा गर्नुहुँदैन । जति सकिन्छ छिटो यही महिना वा असार भित्रै संविधान जारी गरेर हामी अगाडि जानु पर्छ । कांग्रेस बेलाबेला सत्तामा हुँदा उसको मनमा सैतान पलाउने गर्छ । उसका मनमा अन्यथा सैतान पलाएन भने, नेकपा एमाले पनि उत्ताउलो भएन भने माओवादीको जाने ठाउँ अन्त कहीँ छैन । संविधान जारी हुन्छ, सरकार बन्छ र त्यसको नेतृत्व एमालेले गर्छ ।
जेठ असार भित्रै संविधान बन्न सम्भव होला र ?
संविधान जारी गर्न किन सम्भव छ भने, राजनीतिक दलहरुबीच एउटा मात्र संघियताको विवाद छ । त्यसमा अहिले नै हामीले यति वटा प्रदेश हुनेछन्, यतिदेखि यति प्रदेश हुनेछन् । ६ वा ७ प्रदेश, ५ देखि सात प्रदेश हुनेछ । तिनको सिमांकन आउँदो संसदले गर्नेछ, तिनको नामाकरण सम्बन्धित प्रदेशहरुले गर्नेछन् भनेर जान सकिन्छ । यदि हामी इमान्दार भइयो भने हामीले संविधान जारी गर्न नसक्ने कुरा छैन । १० दिनमा सहमति हुने सहमति हुन्छन्, नहुने यसअर्थ सहमति भएन भनेर संघियतालाई नै पछि राख्दिम न त । जे–जे मिलेका छन् त्यसलाई टुंग्याएर संघिय गणतान्त्रिक नेपालको संविधान जारी गरौँ ।
विपद्लाई अब कसरी सामना गर्ने ?
विपद् यहाँबाट सामना हुँदैन । यो बेकार बकवास चलिराखेको छ । पैसाको मुठो फालेर मात्रै हुने कुरा पनि होइन । यहाँ प्राधिकरण बनाएर हुने पनि केही होइन् । जनता स्वयंलाई सक्षम गराउनुस्, विपद्को सामना गर्नका लागि । विपद् सामना गर्ने जनताको सामथ्र्यलाई बढाइदिनुस् । त्यो भनेको राजनीतिक ठीक पार्दिनुस् । स्थानिय निकायको चुनाव गर्दिनुस्, तिनका हातमा पैसा र स्रोत दिनुस । त्यसो गर्दा पाँच वर्ष भित्र हामी यो रिकभर गरिसक्छौ ।
यसमा सरकार र राजनीतिक दलको भूमिका ?
सरकारले त त्यसलाई फेसीलेटेड गर्ने हो, बजेट दिने हो । साधन स्रोत पुर्याइदिनु पर्यो । अहिले सबैभन्दा ठूलो कुरा तलको चुहावट हो । तलको साधन, स्रोत निगरानी गर्ने खालको सरकाले नेतृत्व गर्नुपर्यो । अहिले हाम्रो राजनीतिमा आफ्ना चार जना कार्यकर्तालाई दिन, अर्को पार्टीको चार जना खोजेर ल्याउने खालको चलन बिकसित हुँदैछ । यसलाई रोक्ने कुरा राजनीतिक पार्टीको मुख्य काम हुनेछ । पुनः निर्माणको लागि जुन खालको नीति सरकारबाट निर्माण हुँदैछ, त्यसमा जनतालाई परिचालित गर्ने काम राजनीतिक पार्टीको हो ।
नेपाल दोस्रो हैटी हुन लाग्यो भन्दैछन् नि ?
एउटा त यो हैटी हुँदैन, भन्दैछु म । यो जापानजस्तो पनि हुँदैन । जसरी साम्राज्यवादले सांस्कृतिक रुपमा जरा उखेलेर हैटीलाई आकाशबेली बनाएको थियो । हामीलाई त्यस्तो बनाउन सकिसकेको छैन । जनतामा एकता छ । हामीसँग जनतालाई बाँध्ने ऐतिहासिक शक्ति छ । हामी हैटी अहिल्यै हुँदैनौ । तर हैटी हुँदै हुँदैनौ भन्ने कुरा त होइन । अहिले हैटी र जापान बनाउने भनेको मान्छेहरुले तासको पट्टी थुते जस्तो सम्झेका छन् । त्यस्तो होइन । यदि हैटी भैहाल्यो भने पनि लामो समय लाग्छ, जापान हुन पनि लामै समय लाग्छ ।
प्रस्तुति: दैनिक नेपाल डेक्स












प्रतिक्रिया