२९ आश्विन २०८३, बिहिबार

बाटोबाटै बस अपहरण गरेर निर्दोष १९ जनाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-apharanक्वेटा, १७ जेठ । पाकिस्तानको दक्षिणपश्चिमी भागमा दुई बस अपहरण गरी कम्तीमा १९ यात्रुको हत्या गर्ने बन्दुकधारीलाई खोज्न सुरक्षा सेनाले शनिबार बिहानै एक प्रमुख अभियान आरम्भ गरेको अधिकारीहरूले बताएका छन् ।

मुलुकको तनावग्रस्त बलुचिस्तान प्रान्तमा यस अभियानमा अर्धसैनिक सीमा बलका करिब २०० सैनिकले भाग लिएको बताइएको छ । यस राज्यमा निकै समयदेखि विद्रोह चलिरहेको छ भने हालका सातामा विद्रोहीले हिंसात्मक गतिविधि बढाएको देखिएको छ ।

बलुचिस्तानका गृहमन्त्री सर्फराज बुगटीले शुक्रबार राति बन्दुकधारीले २५ यात्रुलाई अपहरण गरी १९ जनालाई मारेको जानकारी दिनुभयो । उहाँले अधिकारीहरूले बाँकी छ व्यक्तिलाई फेला पारेको तर तीमध्ये एकको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

बुगटलीले अपहरणकारीले आरम्भमा ७० यात्रुलाई नियन्त्रणमा लिएको र तीमध्ये ५० जनालाई भाग्न दिएको बताउनुभयो ।

निजी क्षेत्रमा सञ्चालित जियो टीभी च्यानलले घटनामा जोगिन सफल एक व्यक्तिको अन्तर्वार्ता लिएको थियो र ती व्यक्तिले बसमाथि आक्रमण गर्ने बन्दुकधारीले सैनिक पोसाक लगाएको बताए । उनले बन्दुकधारीले यात्रुहरूलाई जातीय आधारमा विभाजन गरेको र पस्तुनलाई लाइनमा राखी बलुचलाई भाग्न दिएको बताए ।

ती व्यक्तिले बन्दुकधारीले पस्तुन यात्रुलाई उनीहरूको परिचयपत्र हेरी लाइनमा राखेको र उनीहरूमाथि गोली चलाएको बताए । उक्त टीभी च्यानलले यी व्यक्तिको परिचय दिएको छैन ।

उक्त आक्रमणका लागि कसैले पनि तत्कालै आफ्नो जिम्मेवारी लिएको छैन । यसो भए पनि बलुचिस्तानमा बलुच राष्ट्रवादीहरूले पृथकतावादी आन्दोलन चलाएका छन् । यस पृथकतावादी समूहले आफ्नो क्षेत्रमा बढी स्वायत्तपना तथा यस प्रान्तको ग्यास तथा खनिज स्रोतमा बढी भाग खोजेको छ । बलुच राष्ट्रवादीहरूले गर्ने यस्ता आक्रमणमा उनीहरूले बलुच जातिका व्यक्तिलाई भाग्न दिने गरेको बताइएको छ ।
पाकिस्तानको अन्य भागमा एक आत्मघाती बम आक्रमणकारीले शुक्रबार लाहोरको एक रङ्गशालानजिकै बम आक्रमण गर्दा एक प्रहरीको मृत्यु भएको छ भने अन्य छ घाइते भएका छन् । उक्त रङ्गशालामा पाकिस्तान तथा जिम्बाबेबीच क्रिकेट खेल भइरहेको थियो । रासस÷एपी