– रबिना बोहरा
बागलुङ, १७ जेठ । नेकपा एमालेद्धारा सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियान अन्तर्गत शाखा बागलुङले पुनर्निर्माण तथा राहत काम तिब्र पारेको छ ।
एमाले बागलुङले तीन वटा क्षेत्रमा तीन वटै टोली निर्माण गरी पुनःस्थापनाको कार्यक्रम गरिरहेको नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले बताउनुभयो । गत बैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पबाट जिल्लामा भएका क्षति र बढी जोखिम युक्त घरहरुलाई पार्टीको अभियान स्वरुप भत्काउने कार्य चलिरहेको जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा स्वयंसेवक परिचान कमिटीका कमाण्डर रामबहादुर जिसीको नेतृत्वमा, क्षेत्र नम्बर २ मा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीको नेतृत्वमा र क्षेत्र नम्बर ३ मा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिनाको नेतृत्वमा पुनःनिर्माणको काम भैरहेको नेकपा एमाले बागलुङले जनाएको छ । क्षेत्र नम्बर १ को रेश र सिगानालाई नमुना गाविसको रुपमा केन्द्रित गरी र बानपामा ३ र ५ नम्बर वडालाई केन्द्रित गरी घर भत्काउने र पुनःनिर्माण गरिने काम गर्ने स्वयंसेवक परिचान कमिटीका कमाण्डर रामबहादुर जिसीले बताउनुभयो ।

क्षेत्र नम्बर २ मा आइतबारबाट बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीको नेतृत्वमा बिनामारेबाट काम सुरु भएको भन्दै प्रत्येक वडामा पार्टी कमिटी, जनसंगठन परिचालन गरि काम गरिरहेको केन्द्रिय सदस्य नेपालीले बताउनुभयो । पार्टीको केन्द्रिय निर्देशन अनुसार असार १० गतेसम्म नै स्वयंसेवक परिचालन गरी काम गर्ने उहाँको भनाई थियो । यस्तै, भूकम्प प्रभावित जिल्ला गोरखामा पनि नेकपा एमालेको टोलीले घर भत्काउने र पुनःस्थापना गर्ने काम गरिरहेको नेकपा एमाले बागलुङले जनाएको छ ।













प्रतिक्रिया