२९ आश्विन २०८३, बिहिबार

काजाखस्तानमा दुर्लभ हरिणको व्यापक मृत्युका कारण संरक्षणमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

harinअस्ताना (काजाखस्तान), १६ जेठ । पूर्व सोभियत राज्य काजाखस्तानमा गत दुई सातामा लोपोन्मुख लाखौँ हरिणको अकस्मात मृत्यु भएपछि वैज्ञानिकहरूले यसको उत्तर खोजिरहेका छन् भने संरक्षणविद्हरू यस जनावरको भविष्यका बारेमा चिन्तत भएका छन् ।

विश्वमा यस्ता सेगा हरिणको कूल सङ्ख्याको एक तिहाइ अर्थात एक लाख २० हजार भन्दा बढीको मृत्यु भएको छ र संयुक्त राष्ट्र सङ्घको वातावरण कार्यक्रमले यसलाई विनाशको रूपमा लिएको छ ।

संयुक्त राष्ट्र सङ्घका विशेषज्ञहरूले यसरी यस्ता हरिणको आममृत्युमा जैविक तथा वातावरणीय कारण रहेको बताएका छन् ।

वैज्ञानिकहरूले यस हरिणको मृत्यको कारण भएको रोगको वास्तविक प्रकृति पत्ता लगाउन प्रयास गरिरहेका छन् भने उनीहरूले अनेकौँ जीवाणु फेला पारेका छन् ।

यी जिवाणुले हालैको वर्षाको समयमा अझै यी हरिणमाथि सङ्क्रमण गरेको र उनीहरूको मृत्यु भएको बताइएको छ । यस प्रकारका ९० प्रतिशत हरिण मध्यएसियाली मुलुक काजाखस्तानको घाँसे मैदानमा फेला परेका छन् ।

अल्टिन डाला कन्जरभेसन इनिसिएटिभका स्टेफेन जुथरले यी हरिण हिमयुग देखि यस क्षेत्रमा रहेको बताउनुभयो ।

लन्डनको रोयल भेटेरिनरी कलेजका प्राध्यापक रिचर्ड कुकले यस हरिणमा सतप्रतिशत मृत्युदर रहनु असाधारण भएको बताउनुभयो । उहाँले यस जनावरमा प्रतिरोध क्षमता निकै कम भएको बताउनुभयो ।

यस्तो हरिणको उमेर छ देखि १० वर्ष रहेको देखिएको छ र उनीहरूको नाक लामो र बाहिर आएको हुन्छ ।

सन् १९९३ मा काजाखस्तान, रसिया तथा मङ्गोलियाका घाँसे मैदानमा करिब दश लाख सेगा हरिण रहेको अनुमान गरिएको थियो ।

काजाखस्तानका प्रधानमन्त्री करिम म्यासिमोभले यी हरिणको मृत्यको कारण पत्ता लगाउन तथा त्यसलाई सङ्क्रमण हुन नदिन बिहीबार अन्तर्राष्ट्रिय विशेषज्ञहरूको एक समूहको गठन गर्नुभएको छ ।

वैज्ञानिकहरूले पुरानो सङ्ख्यामा यस्ता हरिण जोगाउन एक दशक लाग्ने बताएका छन् ।

चीनमा यस्ता हरिणको सिङलाई औषधिको रूपमा उपयोग गरिने भएकाले सोभियत सङ्घको पतनपछि उनीहरूको व्यापक रूपमा सिकार भएको थियो ।

काजाखस्तान सरकारले सन् २०११ सम्म सेगा हरिणको सिकारमा प्रतिबन्ध लगाउँदै यस्तो कार्य गरे पाँच वर्षसम्मको कारावासको सजाय तोकेको थियो । रासस/एएफपी