३ कार्तिक २०८३, मंगलबार

अर्थ मन्त्रीका पिए रमेशले दुई सय बण्डल जस्तापाता नुवाकोटबाट किन फिर्ता गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Sharan-Mahatकाठमाडौं, १६ जेठ । नेपाल इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरूप दिइएको जस्तापाता काठमाडौं फर्काउँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएका छन् ।

अर्थमन्त्रीकै आग्रहमा उपलब्ध गराइएकोे चार सय बन्डल जस्तामध्ये दुई सय बन्डल काठमाडौं फर्काउँदै गर्दा छहरेपुलमा नियन्त्रणमा लिइएको आजको सौर्य दैनिकले छापेको छ ।

जस्तापाता कसले के प्रयोजनका लागि फर्काएको भन्ने स्वतन्त्र पुष्टि भएको छैन । अर्थमन्त्री रामशरण महतको वडामा रहेको स्कुलमा झरेको जस्ता अर्थमन्त्रीका पिए रमेश महतको संलग्नतामा काठमाडौं फर्काइएको कांग्रेसका वडा समिति सचिव मधु कोइरालाले बताए ।

‘बिहीबार राति जस्तापाता झारिएको थियो, शुक्रबार रमेश महतका बुबाले ट्रिपर बोलाएर सामान लोड गराएर पठाउनुभएको हो’, सचिव कोइरालाले भने, ‘आठ किलोमिटर तल लगेपछि रोकियो, डिएसपीले गल्ती भयो, अब जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत वितरण गर्ने भन्दै जिल्लामा पठाइदिन अनुरोध गरेका छन् ।’ उनले जोसुकैले अनुरोध गरे पनि गाडी अनुसन्धान पूरा भएर दोषीलाई कारबाही नगर्दासम्म त्यहाँबाट अन्त लैजान नदिइने बताए ।

डिएसपीले अनुसन्धानका लागि इन्स्पेक्टर पठाएको र जस्ताको गाडी जिल्लामा पठाइदिए सबैलाई मिलाएर जस्ता वितरण गर्ने आस्वासन दिएको उनले जानकारी दिए । कोइरालाले भने, ‘रमेश महत बोल्दिनँ भन्दै त्यहाँबाट बाहिरिएका थिए ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अरुण पौडेलले जस्तापाता ट्रिपरमा भेटिएको भए पनि त्यो फिर्ता गर्न लागिएको वा ल्याउँदै गरेको आफूलाई जानकारी नभएको बताए ।

उनले अनुसन्धान जारी रहेको र ट्रिपर ड्राइभरको नामसमेत भोलि (शनिबार) मात्र भन्न सकिने भन्दै पन्छिए । उनले जस्तापाता काठमाडौं लैजान लागिएको वा नुवाकोट ल्याउँदै गरेको भनेर भन्न नसकिने भन्दै कविलासबाट झरेको गाडी रोकेको स्थानमा विवाद भएको विषय मात्र आफूलाई जानकारी भएको बताए ।

बिहीबार स्कुलमा झरेको भन्ने जानकारी आएको छ नि ? भन्ने प्रश्नमा डिएसपी पौडेलले भने, ‘हामीलाई हिजो (बिहीबार) झारिएको विषयमा कुनै जानकारी नै छैन ।’ डिएसपीले नै अनुसन्धान जारी रहेको भन्दै चालकको नामसमेत नदिनुले जस्ता प्रकरणमा माथिल्लो तहकै व्यक्तिको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

ट्रिपर रोकिएको स्थानमै रहेका सशस्त्र प्रहरीका डिएसपी श्याम कार्कीले अनुसन्धान नेपाल प्रहरीले गर्ने भएकाले आफूले केही पनि बताउन नसक्ने बताए । उनले ड्राइभरलाई चौकीमा लगेर प्रहरीले अनुसन्धान गरिरहेको बताए पनि आफूले त्यसबाहेक केही पनि बताउन नमिल्ने बताए ।

प्रहरीले केही बताउन नचाहे पनि स्थानीयले ट्रिपर चालकले आफ्नो नाम नीरज भण्डारी बताएका छन् । उनी नीरज भण्डरी नै हुन् भनेर प्रहरीले पुष्टि गरेको छैन ।

कविलासस्थित कालिका माविका लागि पठाइएको जस्तापाता स्कुलमै पुर्‍याएर झारिएको थियो । ‘बैंकले सम्बन्धित ठाउँमै पुर्‍याएर चार सय बन्डल जस्ता झारिदियो’, ती नेताले भने, ‘तर आज त्यहाँबाट दुई सय बन्डल जस्ता हराएपछि खोजी गर्दा स्थानीयले छहरे पुलमा ट्रिपरमा भेटका थिए ।’

बा १ ख ३८४४ नम्बरको ट्रिपर ड्राइभरले ढिलासम्म पनि आफूले काठमाडौंको कोटेश्वर पुर्‍याउन पर्ने र त्यसबापत ३० हजार रुपैयाँ भाडा पाउने विषय मात्र खोलेका छन् । कसले ल्याउन लगाएको भन्ने विषयमा उनले केही बताएनन् ।

थानसिङ गाविसका रामशरण लामिछानेले छहरे पुलमा गाडी रोकेर खाना खान लाग्दा स्थानीयले देखेपछि गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘ट्रिपरले काठमाडौं फर्काउँदै गरेको जस्ता छहरे पुलमा पुगेपछि स्थानीयले रोकेका हुन्’ उनले भने, ‘अहिले पनि प्रहरी नियन्त्रणमा त्यहीँ रोकिएको छ ।’ उनले बैंकले राहत स्वरूप पठाएको जस्तापाता काठमाडौं लगेर बिक्री गर्न खोजेको हुनसक्ने भएकाले प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

उनले जस्तापाता कसले लैजान लागेको भन्ने अनुसन्धान पूरा भएपछि दोषीलाई कारबाहीसहित स्थानीय तहमै वितरणको पक्षमा आफूहरू रहेको बताए ।