१६ कार्तिक २०८३, सोमबार

‘पाँच वर्षभित्र नेपाललाई जस्ताको तेस्तै बनाउँछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamललितपुर, १५ जेठ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सामुदायिक सूचना नेटवर्कको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित “विपद्मा सामुदायिक रेडियोको भूमिका’ विषयक कार्यक्रममा उहाँले अब निर्माण गरिने भौतिक संरचना भूकम्प प्रतिरोधात्मक हुने बताउनुभयो ।

नयाँ बस्ती विकासका क्रममा सुरक्षित स्थानको खोजी गरेर एकीकृत बस्ती विकासको अवधारणा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले ध्वस्त संरचना पुनः निर्माणमा करिब रु. पाँच खर्ब बजेटको आवश्यक परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुनः निर्माणमा लाग्ने खर्चको जोहो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरिने छ ।”

विपद्का बेला कालाबजारी गर्नेहरुको अभिलेख राखिएको जानकारी दिँदै उहाँले त्यसो गर्नेहरुविरुद्ध राज्यले कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राज्यले निर्धारण गरेका नीतिनियम र मौजुदा कानुनविपरीत निजी क्षेत्रलाई उक्साएर काम गर्नेहरुविरुद्ध पनि राज्य कठोर रुपमा प्रस्तुत हुने चेतावनी उहाँले दिनुभयो ।

अब गरिने निर्माण एवम् पुनः निर्माण मापदण्डअनुरुप हुनैपर्नेमा जोड दिँदै त्यसो नगर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट गर्नुभयो । हालसम्म १३ लाख थान त्रिपाल भूकम्पपीडितलाई वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो ।