मस्को, १५ जेठ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले फिफाको मामिलामा हस्तक्षेप गरेको तथा यो सन् २०१८ मा आफ्नो मुलुकमा विश्वकप फुटबल हुन नदिने प्रयासको एक भाग भएको सङ्केतको रूपमा हेरिएको आरोप लगाउनुभएको छ ।
उहाँले अमेरिकी अधिकारीहरूको अनुरोधमा उसका नागरिक संलग्न नभएको र अमेरिकामा नभएको अपराधमा अनुसन्धान भएको आफूले पाएको र त्यो सङ्गतिपूर्ण नदेखिएको बताउनुभयो । उहाँले यी कुरा बिहीबार टेलिभिजनमा प्रसारण गरिएको कार्यक्रममा बताउनुभएको हो ।
अमेरिकामा बुधबार १४ व्यक्तिमाथि भ्रष्टाचारका आरोप लगाइएको थियो र तीमध्ये दुईले अमेरिकी नागरिकता लिएका थिए । तीमध्ये सातलाई बुधबार बिहान जुरिकमा फक्राउ गरिएको थियो । शुक्रबार फिफाको अध्यक्ष पदको निर्वाचन हुने भएको छ र सेप ब्लाटर पाँचौँ पदावधिका लागि विजयी हुने अपेक्षा गरिएको छ ।
स्विजरल्यान्डका सरकारी वकिलहरूले फिफाले सन् २०१८ मा रसियामा तथा सन् २०२२ मा कतारमा विश्वकप फुटबल खेल आयोजना गर्न गरेको निर्णयका विषयमा छुट्टै रूपमा फौजदारी अनुसन्धान गरिरहेका छन् ।
रसियाली राष्ट्रपति पुटिनले कसैले केही नराम्रो काम गरेको भए रसियासँग त्यसको सम्बन्ध नभएको बताउनुभयो । उहाँले जनतालाई सूचना दिने व्यक्ति जुलियान असान्ज तथा एडवर्ड स्नोडेनलाई कारवाही गर्ने घटनामा झैँ अमेरिकाले विरोधीमाथि अनुसन्धान गर्न खोजेको भनी आरोप लगाउनुभयो । यो घटनाले अमेरिका र रुसबीच द्वन्द्व बढाउने भन्दै विश्वयुद्धको खतरा रहेको अधिकारीले बताएका छन् ।
उहाँले अमेरिकीहरूले आफ्नो लक्ष्य प्राप्त गर्न व्यक्तिमाथि गैरकानुनी रूपमा कारवाही गर्ने तरिका अवलम्बन गर्नु दुभाग्यपूर्ण भएको बताउनुभयो । उहाँले यो फिफाको मुद्दा भएको कुरामा भने आफूले अस्वीकार नगर्ने बताउनुभयो । उहाँले ब्लाटरलाई फिफाको अध्यक्ष पदमा पुनः निर्वाचन हुन नदिने यो एक प्रमाण भएको आरोप लगाउनुभयो । उहाँले रसियालाई सन् २०१८ मा विश्वकप फुटबलको खेल हुन दिएको सम्बन्धमा ब्लाटरमाथि दबाब परेको बताउनुभयो ।
रसियाली खेलमन्त्री भिटाली मुट्को फिफाको कार्यकारी समितिका सदस्य हुनुहुन्छ र उहाँ यस संस्थाको कार्यकारी संस्था कङ्ग्रेस तथा अध्यक्ष पदको निर्वाचनका लागि जुरिकमा हुनुहुन्छ । उहाँले बुधबार आफ्नो मुलुकले यस अनुसन्धानलाई स्वागत गर्ने बताउनुभयो । रासस/एपी
















प्रतिक्रिया