– जीवन भण्डारी
काठमाडौ, १५ जेठ । नारायणहिटी दरबार परिसरमा निर्माणाधिन गणतन्त्र स्मारकको काम अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भको काम शिलन्यासमै सीमित भएको छ ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ चैत्र १४ गते शिलान्यास गर्नुभएको स्मारक आगामी मङ्सिर निर्माण सम्पन्न हुने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले स्मारकको झण्डै ७५ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । उहाँले मुख्य निर्माणका सबै काम सकिएकाले अब अन्तिम चरणको काम (फिनिसिङ) मात्रै बाँकी रहेको जानकारी दिनुभयो ।
स्मारकको अनुमानित लागत रु ४२ करोड छ । केही रकम बढ्न सक्ने महर्जनले बताउनुभयो । नारायणहिटी दरबारको पूर्वतर्फको ३७ रोपनी जग्गा स्मारकलाई छुट्याइएको छ ।
स्मारक दुई तला जमिन मुनि हुनेछ । एक तला जमिनमाथि हुनेछ । जमिनमुनिबाट स्मारकको कुल उचाइ १२ मिटर हुनेछ ।
स्मारकमा चारवटा खम्बा हुन्छन् । तीमध्ये गणतन्त्र ल्याउने आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा, घाइते हुनेको सम्झनामा, अपहरणमा परेकाको सम्झनामा र बेपत्ता भएकाहरुको सम्झनामा एक,एक खम्बा बनाइने इन्जिनियर महर्जनले जानकारी दिनुभयो । चारवटा खम्बालाई फलामे गोलो रिङले घेरिनेछ ।
चारवटा खम्बाको बीचमा रहेको खाली ठाउँमा नेपालको चित्र बनाइने र प्रकाशमार्फत चित्रमा उज्यालो पारिने भएको छ ।
स्तम्भको जमिनमुनिको एउटा तलामा बैठक, सभा, विशिष्टलगायतका कक्ष हुन्छन् । अर्को एउटा तलामा फोटो ग्यालरी कक्ष हुनेछ । सभाकक्षमा झण्डै तीन सय जना अट्ने छन् ।
स्मारक बनेको ठाउँभन्दा बाहिर वरिपरि चारैतिर बगँैचा बनाइनेछ । स्मारक निर्माणपछि अवलोकनको सम्पूर्ण व्यवस्थापन नारायणहिटी दरबार सङग्राहलयलाई दिने विभागको तयारी छ ।
सङ्ग्राहलय हेर्न जानेलाई नै स्मारकको समेत अवलोकन गराइने विभागले जनाएको छ ।
गणतन्त्र स्तम्भ भने अझैपनि अन्यौलमै
काठमाडौँ महानगरपालिका–१४ गाङखेलमा निर्माण गर्नेगरी २०६९ साल वैशाख १४ गते शिलान्यास भएको गणतन्त्र स्तम्भको निर्माण कार्य अझै अन्यौलमै छ ।
स्तम्भ निर्माण गर्न अर्थ मन्त्रालयबाट बजेटको व्यवस्था नभएकाले निर्माणको कार्य अगाडि नबढेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
विभागबाट स्तम्भसम्बन्धी सम्पूर्ण योजना सहरी विकास मन्त्रालयमा पठाएपनि छलफलकै क्रममा रहेको विभागका इन्जिनियर महर्जनले जानकारी दिनुभयो ।
स्तम्भका लागि रु एक अर्ब २५ करोड लाग्ने अनुमान छ । स्तम्भको २४ मिटर अग्लो भागमा रहने पहिलो दृश्यावलोकन कक्षमा १५० तथा ६३ मिटर अग्लोमा बन्ने र दोस्रो दृश्यावलोकन कक्षमा ११५ जना अट्ने बनाइने छ ।
स्तम्भ वरिपरि एकैसाथ एक हजार व्यक्ति अटाउनुका साथै सयवटा चारपाङ्ग्रे र ३५० ओटा दुईपाङ्ग्रे सवारी साधनलाई पार्किङ गर्न मिल्ने गरी तयार गरिने भएको छ । स्तम्भका लागि त्रिभुवन विश्वविद्यालयको ७० रोपनी जग्गा छुट्याएर तारबार गरिसकिएको छ ।
यसअघि अन्य दुई ठाउमा स्तम्भ निर्माणका लागि शिलान्यास गरिएको थियो । सवैभन्दा पहिले रत्नपार्क, त्यसपछि ललितपुरको गुसिङ्गाल हँुदै पछिल्लोपटक कीर्तिपुर नजिक काठमाडाँै महानगरपालिका–१४ गाङखेलमा स्तम्भ निर्माण कार्यको शिलान्यास गरिएको हो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ साल वैशाख १४ गते स्तम्भको शिलान्यास गर्नु भएको थियो । रासस













प्रतिक्रिया