काठमाण्डौं, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउँद पनि परेका छन् ।
चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए । काठमाण्डौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
गृह मन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको छ । सिफारिसमा परेका सूचीमा परिवर्तित नाम राखेर पनि पठाइएको छ ।
प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादव वादी रहेको कर्तव्य ज्यान मुद्दाका कैदीको नाम बारा ठेगाना उल्लेख गरेर आरे र एमएमके उल्लेख गरिएको छ । माफी पाउनेमा चारजना भारतीय नागरिक पनि परेका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले ७० वर्ष उमेर काटेका र तोकिएको सजायको ५० प्रतिशत भुक्तान गरिसकेका पाँच सय ४१ जनालाई बाँकी कैद अवधि मिनाहा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया