– विष्णु पौडेल
उपमहासचिव, नेकपा (एमाले)
भूकम्प आउँदा मानिसहरुले सायदै ‘पर्ख र हेर’ को सिद्धान्त अपनाउँछन् होला । सानो होस् वा ठूलो, भूकम्प आएपछि मानिसलाई कुँद्नै हतार हुन्छ । तर, एमालेका उपमहासचिव विष्णु पौडेल भने भूकम्प नरोकिने बेलासम्म संविधानसभाको सभाकक्ष भित्रै अडिए । त्यतिबेला उनलाई लाग्यो, ‘आत्तिएर कहाँ पुग्ने हो र ? हेरौ न त के हुन्छ, मरे पनि यहीँ मरौंला ।’
सभासद्हरु दौडादौड गर्न सुरु गरिहाले । सभाकक्षका कुर्चीहरु छिनमै खाली भए । एक छिनपछि सभामुखको कुर्चीतिर हेरेको त, उहाँ पनि निस्किसक्नु भएको रहेछ ।
प्रसंग गत बैशाख २९ गतेको हो । संसदमा संकल्प प्रस्तावमाथि छलफल चल्दै थियो । संयोग कस्तो प¥यो भने, पौडेल बोल्नका लागि रोस्टममा पुग्दा भूकम्पको कम्पन पनि सुरु भयो । ‘सभामुख ज्यूले मलाई बोल्नका निम्ति समय दिनुभयो । मैले रोस्टममा पुगेर सम्बोधन गरी वाक्यको पहिलो लाइन मात्र सुरुवात गर्दै थिएँ, त्यतिबेलै भूकम्पको कम्पन सुरु भयो’, उपमहासचिव पौडेल दैनिक नेपालसँग भूकम्प अनुभव सुनाउँछन्, ‘मैले सामान्य खालको होला भन्ने सोचे । तर, त्यो ‘आफ्टर सक’ मात्र नभएर अलि कडै खालको आयो ।’
त्यसपछि त के चाहियो र ? सभासद्हरु दौडादौड गर्न सुरु गरिहाले । सभाकक्षका कुर्चीहरु छिनमै खाली भए । तर पौडेल भने रोष्टममै उभिएर हल्लीरहे, दौडने प्रयाससम्म गरेनन् । उनी बोल्दै जान्छन्, ‘एक छिनपछि सभामुखको कुर्चीतिर हेरेको त, उहाँ पनि निस्किसक्नु भएको रहेछ ।’
सभाकक्ष भित्र सभासद्हरुले दोस्रोपटक भूकम्पको कम्पन अनुभव गरेका थिए, २९ गते । दुईबर्ष पहिले पनि भूकम्पले अलि कडै झट्का दिएपछि, सभासद् भागाभाग गरे, सभा स्थगित भयो । यसपालि पनि त्यस्तै ।
भूकम्पपछि सभाकक्षबाट निस्कनेमध्ये पौडेल अन्तिम पात्र भए । उनी जतिबेला बाहिरिँदै थिए, त्यतिला सभाकक्ष भित्र न बिजुली थियो, न कुनै सभासद् नै । पौडेल भन्छन्, ‘म बाहिर निस्कने बेला सभाकक्ष भित्र कोही पनि सभासद् थिएनन् । बाहिर आउँदा भूकम्पको झट्का पनि सक्किसकेको थियो ।’
प्रस्तुति: विश्वास खड्काथोकी / दैनिक नेपाल
















प्रतिक्रिया