काठमाडौं, १४ जेठ । राष्ट्रिय सरकारप्रति सबैको चासो बढिरहेका बेला एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री बारे नयाँ प्रस्ताव अगाडी सारेका छन् ।
एमाओवादी नेता देवेन्द्र पौडेलले फेसबुक मार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव सारेका हुन् ।
उनले अहिलेको अवस्थामा केपी ओलीलाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सरकार मार्फत पुनःनिर्माणमा जुट्नु पर्ने बताएका छन् । नेता पौडेलले छलफलका लागि भन्दै अन्य नेताहरुको पद समेत बिभाजन गरिदिएका छन् । उनले नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणलाई पनि राष्ट्रिय सरकारमा ल्याउन प्रस्ताव गरेका छन् ।
उनले सुप्रिम राजनीतिक ब्युरोमा सशील कोइराला र पूर्व मन्त्रीहरु, उच्चस्तरीय पूनर्निर्माण प्राधिकरणमा डा. बाबुराम भट्राई, अन्तराष्ट्रिय सहयोग केन्द्रीकरण र व्यवस्थापन संयन्त्रमा शेर बहादुर देउवा, माधव नेपाल, विजय कुमार गच्छदार, झलनाथ खनाल र मोहन बैद्यलाई अगाडि सारेका छन् ।
अब सबै राजनीतिक दलहरु सम्हालिएर देश निर्माणमा जुट्नुपर्ने भएकाले आग्रह, पूर्वाग्रह र आरोप प्रत्यारोप सबै छोड्न नेता पौडेलको आग्रह छ । उनले सय खर्बको बजेटमा १० वर्षको योजना बनाई पुनः निर्माणमा जुट्नुपर्ने बताएका छन् ।













प्रतिक्रिया