
– सूर्यचन्द्र बस्नेत
ओखरपौवा (नुवाकोट), १४ जेठ । च्यामे तामाङले दिनरात पसिना बगाएर कमाएको रु छ लाख खर्चेर गाउँमा बनाएको नयाँ घरमा सर्ने योजना बनाउँदा बनाउँदै भूकम्प आइदियो ।
करिब ५५ घरमा २६५ जनसङ्ख्याको सबै तामाङ जाति बस्ने कुलेगाउँको बीचमा नीलो टिनले छाएको चिटिक्क परेको उहाँको घर बेग्लै र आकर्षक देखिन्थ्यो । “सात जनाको परिवार लिएर वैशाख १७ गते नयाँ घर प्रवेश गर्ने सोचमा थिएँ, १२ गतेको भूकम्पले घर भत्केपछि त्यो सपनामै सीमित भयो,” गाउँका ‘सुब्बा’ तामाङले भन्नुभयो ।
अझै रु डेढ लाख ज्याला तिर्न बाँकी रहेको र काम गर्नेहरु ज्याला माग्न आएको बताउँदै सुब्बाले कसो सबैको ज्यान बचेकाले सरकारले पुनर्वासको योजना ल्याउनुपर्ने बताउनुभयो । भूकम्पले घर भत्किँदा मेघमान तामाङ छ महिनाको छोरीसँगै घरभित्र च्यापिनुभयो । खुट्टा बाहिर निस्केको थियो । “छोरी बचाइदेऊ” भनेर कराउँदा बाहिर छिमेकी कराएजस्तो सुनियो । “छोरी छातीमै च्यापेको थिएँ, गाउँलेले आधा घन्टापछि निकाले, पुर्नजन्म पाएँ, अब व्यवस्थित बसोबास गर्न पाए हुन्थ्यो,” मेघमानले भन्नुभयो ।
काठमाडौँबाट २३ किमी टाढा पर्ने यहाँ पुग्न ककनीबाट भने कच्ची मोटरबाटो छ । गाउँका सबै घर भूकम्पले ध्वस्त भएका छन् । मानिसहरु पुराना टिन जुटाएर अस्थायी टहरो बनाउँदै छन् । वर्षाको हावाहुरी र पानी पस्ने डरले उनीहरुलाई सताएको छ । सरकारले दिने भनेको जस्तापाता र राहत पुग्न सकेको छैन । चारैतिर भिरालो जमिनमा टापुजस्तोमा बसेको सो बस्तीको वरपर भूकम्पले जमिन चिरिएको छ । पहिराले गाउँ नै सखाप पार्ला भन्ने त्रासले पानी पर्न लाग्दा भूकम्पको जस्तै त्रास हुन्छ ।
“चारैतिर जमिन चिरिएको छ, बारीमा जानै सकिन्न, अहिले त यस्तो छ, वर्षामा पानी दर्किएपछि भासिएर गाउँ नै पहिरिने त्रास छ,” पीडित गाजलीमाया तामाङले भन्नुभयो । मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ पर्ने भैँसी, बाख्रा र गाई पुरिएको गाउँलेले बताए ।
भूकम्पपछि सो गाउँमा चर्चित हास्यकलाकार सीतारमा कट्टेल र कुञ्जना घिमिरेको टोलीले जनश्रमदानमा केही पक्की शौचालय निर्माण गरिदिएको छ । पहिले बारीतिर जाने उनीहरु बिस्तारै स्वास्थ्यको ख्याल गर्दै शौचालयतर्फ आकर्षित भएको चार दिनदेखि श्रमदानमा क्रियाशील हास्य कलाकार जीवन कट्टेलले बताउनुभयो ।
‘मेरी बास्सै’ र ‘भद्रगोल’ टेलिफिल्मका कलाकारले स्थानीय बासिन्दा, ‘सगुन डटकम’, ‘ज्येष्ठ फाउन्डेसन’को सहयोगमा श्रमदान जुटाएर चार दिनमै कुलेगाउँ नजिकै चित्रेभन्ज्याङमा सातकोठे टिन, बाँससहितको विद्यालय भवन बनाइदिए । भूकम्पले छकोठे भवन भत्काएपछि तत्कालै नयाँ भवन बनाइएको ‘सगुन डटकम’का अखिल सिटौला र माधव चौलागार्इंले बताए । ‘सगुन डटकम’का अजयबाबु शिवाकोटीले समुदायमा लाभ होस् भनेर शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग पुग्नेगरी कलाकारसँगको सहकार्यमा गाउँमा यस्तो काम सम्भव भएको बताए ।
सोही अवसरमा विद्यालयमा अध्ययनरत २५० विद्यार्थीलाई कलम, कापी र झोला बाँडियो । रुम टु रिडले बनाएको सुरक्षित चारकोठे भवनमा नर्सरीदेखि ३ र नयाँ भवनमा अरु कक्षा चलाइएको छ । “भूकम्पपछि कहाँ बसेर पढ्ने भन्ने समस्या थियो, भवन बनेपछि विद्यालय सञ्चालन गरेर विद्यार्थीलाई सुरुमा भूकम्पबाट बच्ने उपायबारे परामर्श दिन थालेका छौँ”, २८ वर्षदेखि विद्यालयमा कार्यरत प्रअ रामउदगार यादवले भन्नुभयो ।
श्रमदान गर्न पुगेको टोलीले विद्यालय, कुलेगाउँ र चित्रेभन्ज्याङमा ४० पक्की शौचालय बनाइदिएको छ । “सुरुमा हामी राहत वितरणमा सीमित भयौँ, पछि समुदायको अधिकतम हितका लागि शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग गरेका छाँै,” ज्येष्ठ फाउन्डेसनका निर्देशकद्वय विकल्प पाठक र मधुसूदन पाठकले बताए । अर्का निर्देशक बद्री हुमागाईंले भूकम्पपीडितका समुदायलाई हित हुने खालको बृहत् सहयोग गर्ने सोचमा रहेको जानकारी दिए । रासस












प्रतिक्रिया