काठमाडौं, १४ जेठ । मुलुकमा महाभूकम्प आए लगत्तै उद्धार तथा राहत वितरणमा सक्रिय रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो पहिलो चरणको राहत वितरण कार्यक्रम ओखलढुंगामा राहत वितरण गरी टुंगाएको छ ।
ओखलढुंगाका लागि राहत वितरण संयोजक एसी शेर्पासहित एनआरएन उपाध्यक्ष टिबी कार्की तथा एनआरएन बहराइनका सल्लाहकार श्याम तामाङको टोलीले ओखलढुंगाका भूकम्प पीडितका लागि प्रमुख जिल्ला अधिकारी विशाल भट्टराई र स्थानीय विकास अधिकारी शर्तुग्न पुडासैनीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा एनआरएनको टोलीले त्रिपाल १ सय २५ थान, ट्रेकिङ टेन्ट ५५ थान, कम्बल ३ सय ५० थान, माक्स १० हजार थान, मोजा १० हजार थान, रेडिमेट कपडा ६ सय थान राहत स्वरुप प्रदान गरेको थियो ।
राहत सामग्री प्रदान गर्दै सोलुखुम्बुका समेत संयोजक रहेका एसी शेर्पाले ओखलढुंगामा भूकम्पबाट बढी पीडित हुन पुगेका जिल्लाका पश्चिमी क्षेत्रमा सो राहत सामग्री पु¥याउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
सिन्धुपाल्चोकका राहत वितरण संयोजक समेत रहेका श्याम तामाङले भूकम्प प्रभावित विभिन्न जिल्लामा एनआरएनको टोलीले राहत वितरण कार्य सम्पन्न गरेको बताउँदै अब मुलुकको पुनर्निर्माणमा आफुहरु जुट्ने बताए ।
यस्तै एनआरएनका उपाध्यक्ष टिबी कार्कीले एनआरएनको पहिलो चरणको राहत सामग्री ओखलढुंगामा राहत वितरण गरेसँगै अन्त्य भएको घोषणा गर्दै अब दोस्रो चरणको कार्यक्रम अन्तर्गत पीडितहरुको पुर्नवास तथा मुलुक पुनर्निर्माणमा गैरआवासीय नेपाली संघ लाग्ने बताए ।
राहत सामग्री बुझदै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विशाल भट्टराइले अन्य जिल्ला भन्दा ओखलढुंगामा भूकम्पको प्रभाव कम देखिएपनि यहाँ धेरै क्षति पुगेको बताए । उनले बढी प्रभावित जिल्लाको पश्चिमी क्षेत्रमा एनआरएनले प्रदान गरेको राहत सामग्री पुर्याउने समेत प्रतिवद्धता गरेका छन् ।
















प्रतिक्रिया