काठमाडौं, १४ जेठ । राजधानीको लैनचौरस्थित भूकम्पपीडितको अस्थायी शिबिरमा बसेकी ५ वर्षकी बालिका गत साता ४२ वर्षे व्यक्तिबाट बलात्कृत भइन् ।
महाभुकम्पपछि लैनचौरस्थित अस्थाइ शिबिरमा बाबुआमासंगै आश्रय लिइरहेकी ती बालिकालाई कोही नभएको मौका छोपी ती व्यक्तिले पालभित्रै बलात्कार गरेका थिए ।
पीडकलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
तनहुँका ३५ वर्षे धुब्र भण्डारीले टुँडिखेलमा खेलिरहेकी ९ वर्षकी बालिकालाई हातमा समातेर तान्दै लगिरहेको त्यहाँ खटिएका सुरक्षाकर्मीले देखे ।
‘सोधपुछ गर्दा बलात्कारको प्रयास भएको पाइयो’, नेपाली सेनाका कर्णेल प्रयोग जंगबहादुर राणाले भने, ‘ती बालिकालाई ३–४ दिनदेखि लगातार पिछा गरिरहेका रहेछन् । बाबुआमा नभएको मौका पारी लाँदै गरेको देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएका हौं ।’
भुकम्पपछि पालमा आश्रय लिइरहेका बेला ५ वटा बलात्कार प्रयासका घटना भएको प्रहरीले जनाएको छ । यो काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको मात्रै तथ्याङ्क हो ।
हालसम्म प्रहरीलाई आएको उजुरी अनुसार बसुन्धरा, थानकोट, टुँडिखेल, ठिमी, महाराजगञ्जमा रहेका शिबिरमा बालिकामाथि बलात्कारका प्रयास भएका कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया