२९ आश्विन २०८३, बिहिबार

सहिद पत्रकार सेनको बलिदानीको अबमूल्यन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabin-Priyasan-Dang

सहिद पत्रकार कृष्णसेन इच्छुकको १४ औं स्मृति दिवस जेठ १३ गते परेको छ । पत्रकार सेन कलमजीवि/श्रमजीवि पत्रकार हुनुहुन्थ्यो । पत्रकारितालाई परिवर्तनसंग जोडेका पत्रकार सेनलाई तत्कालिन जनयुद्धमा होमिएको पार्टी नेकपा माओवादीको समर्थनमा शब्दको खेती गर्‍यो भन्ने आरोपमा २०६९ जेठ १३ गते जेलमा नै उनको चरम यातना दिएर हत्या गरिएको थियो । सेनको हत्या भएको १३ वर्ष भइसकेको छ । सेनको हत्यापछि नेपाल पत्रकार महासंघले हत्याको भत्र्सना गर्दै देशव्यापी बिरोधका कार्यक्रमहरु गरेको थियो । तर, बिडम्वना नै भन्नुपर्छ, १३ वर्ष बितिसक्दा समेत सेनका हत्याराहरुलाई कुनै पनि कारवाही भएन । उनको हत्यामा संलग्न भनिएकाहरु राज्यको मानसम्मान पाउँदै उच्च ओहोदामा पुगेका छन् । जबकि सेनको बिचारधारा बोक्ने पार्टी हालको एकीकृत नेकपा माओवादी धेरैपटक सरकारको नेतृत्व गर्ने र सरकारमा सहभागी भएको छ । एमाओवादीकै सरकारको पालामा सेनको हत्यासँंग जोडिएकाहरुले उच्च सम्मान पाएका थिए । यी सबै कुराहरुले के देखाएको छ भने राज्यसत्तामा पुगिसकेपछि आन्दोलनका क्रममा भएका हत्या लगायतका कुराहरु गौण हुन पुग्छन् । अन्यथा सत्ता बाहिर रहँदा सेनको हत्याको बिरोध ठूलो स्वरमा गर्जनेहरु सत्तामा बस्दा मौनताको भकारी कसेरै अगाडि बढ्ने थिएनन् होला । नेपाली प्रेसले बिगतदेखि नै परिवर्तनको पक्षमा खरो आवाज उठाउँदै आएको छ । सञ्चारकर्मीहरुले परिवर्तनकै खातिर आफ्नो ज्यान गुमाएका छन् । नाटकीय ढंगबाट सहिदको सम्मान गरे जस्तो गर्ने राज्य सञ्चालकहरु हत्यामा संलग्नलाई छुनै चाहन्नन् । यसले पनि के पुष्टि गर्दछ भने राज्यसत्ता हत्याराहरुलाई कारवाही हुनुपर्छ भन्ने मानसिकतामा पुग्नैसकेको छैन । यदि कारवाही हुनुपर्छ भन्ने मानसिकतामा राज्यसत्ता हुने थियो भने सहिद पत्रकार कृष्णसेन इच्छुकका हत्याराहरुलाई एमाओवादीको नेतृत्वमा बनेका सरकार होस् या अहिलेको सरसकाले, कारवाही पक्रिया अगाडि बढाउने थियो ।

जुन पार्टीको सिद्धान्तमा टेकेर उनी जीवनको अन्तिम समयसम्म लडिरहे त्यही पार्टी सत्तामा धेरैपटक पुगेर पनि उनको हत्यामा संलग्नहरुलाई छानबिन प्रक्रियामा ल्याउन समेत अगाडि सरेन । यसले के बुझिन्छ भने सेनका हत्याराहरु अब कहिल्यै हत्याको भागीदार बन्नेछैनन् । उनीहरुलाई कारवाही हुनेछैन । 

इच्छुक परिवर्तनकामी क्रान्तिकारी जुझारु व्यक्ति थिए । उनको जीवन संघर्षमै बित्यो । पत्रकारितालाई पनि राजनीति परिवर्तनसंँग जोडेर लग्न सकिन्छ, लाग्नुपर्छ भन्ने मान्यता राख्ने इच्छुकले निःश्वार्थ तवरबाट आफ्नो उद्देश्यलाई अगाडि बढाएका थिए । इच्छुकको क्रान्तिप्रतिको समर्पणले उनलाई आदर्श पात्रका रुपमा चित्रित गर्नेहरु धेरै छन् । त्यसैले उनको रिहाईका लागि नेपाली सञ्चार क्षेत्रले साहसका साथ आफूलाई तत्कालिन निरंकुश राज्यसत्ताका बिरोधमा उभ्याएको थियो । हत्या भएपछि पनि नेपाली सञ्चार क्षेत्रले बिरोधका ज्वारभाटाहरु खरो ढंगबाट उठाएका थिए । नेपाली सञ्चार क्षेत्रको इतिहास हेर्ने हो भने ज्ञानेन्द्र शाहीको चरम निरंकुशताका बीचमा पनि नेपाल पत्रकार महासंघ आन्दोलनमा सबै भन्दा बढी इच्छुककै हत्या भएपछि होमिएको थियो । नेपालमा धेरै पत्रकारहरुको राज्य र बिद्रोही पक्षबाट हत्या भएको छ । राज्य र बिद्रोही पक्षबाट हत्या भएका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले सहिद घोषणा गरेको छ । तर सम्बन्धित पक्षहरुले आ–आफ्ना तर्फबाट भएका हत्याहरुलाई स्वीकार गर्दै त्यसमा संलग्नहरुलाई कारवाही गर्ने सवालमा अहिलेसम्म गाम्भीयर्ता देखाएका छैनन् । राज्यले आफ्नो तर्फबाट भएको हत्यामा संलग्नहरुलाई अहिलेसम्म कारवाही गरेको छैन । बिद्रोहीपक्षले पनि त्यतिबेला पत्रकारको हत्या भएपछि संलग्नहरुलाई कारवाही गरेको हामीले पाएका छैनौं । यहाँसम्मकि बिद्रोही पक्षबाट हत्या भएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई कारवाहीका लागि अदालती प्रक्रिया सुरु हुँदा तात्कालिन बिद्रोही पक्षधर पार्टीहरुले खुलेर त्यसको बिरोध गरेका थिए ।

Krishna-sen-ishachuk
सहिद पत्रकार कृष्णसेन इच्छुक

यी सबै कुराहरुले के देखाउँछ भने नेपाली प्रेस ठूलो जोखिमबाट अगाडि बढ्यो, बढिरहेको छ । नेपाली प्रेसले परिवर्तनका लागि खेलेको भूमिकाको मूल्यांकन राज्यसत्ताले अहिलेसम्म बुझ्न सकेको छैन । सेनको स्मृति दिवसका सन्दर्भमा उनको फोटोमा माला र अविर चढाउनु भन्दा पनि राज्यका तर्फबाट हत्यामा संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउन दबाब दिन जरुरी छ । सेनको बलिदानलाई उच्च सम्मान गर्ने हो भने र भोलिका दिनमा यस प्रकारका कार्यहरु नदोहोरिउन भन्ने हो भने सेनका हत्यामा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाउनैपर्छ । सहिद पत्रकार इच्छुक नेपाली सञ्चार क्षेत्रका लागि गौरव पात्र हुन् । लामो समयसम्म नेपाली पत्रकारितामा संलग्न सेन नेपाली राजनीतिक परिवर्तनको प्रवाहमा निरन्तर लागि रहे । राज्यसत्ताको नियन्त्रणमा आएपछि उनको हत्या गरिनुको पछाडि उनी आफ्नो मिसनमा अविचलित हुनु नै हो । सुरक्षाकर्मीको नियन्त्रणमा पुगेपछि तत्कालिन माओवादीको जनयुद्धका बारेमा बेलीबिस्तार गर्दै सुराकीको काम गरेको भए सायद सेनको हत्या हुने थिएन । तर, सेनले आफ्नो निष्ठा, बिचार र समर्पण जेलमा समेत कायम राखे । उनलाई विश्वास थियो एकदिन मुलुकमा गणतन्त्र आउनेछ, म जस्ता धेरैको हत्यामा संलग्न हत्याराहरु र निरंकुशताका पक्षधरहरुले सजाए पाउनेछन् । यही विश्वासले सेनले हाँसी–हाँसी आफ्नो प्राणको आहुति दिए । यतिबेला सेनको त्याग, बलिदान र समर्पणलाई मसिनो तवरबाट विश्लेषण गर्ने हो भने उनीप्रति ठूलो घात गरिएको छ भन्न सकिन्छ । जुन पार्टीको सिद्धान्तमा टेकेर उनी जीवनको अन्तिम समयसम्म लडिरहे त्यही पार्टी सत्तामा धेरैपटक पुगेर पनि उनको हत्यामा संलग्नहरुलाई छानबिन प्रक्रियामा ल्याउन समेत अगाडि सरेन । यसले के बुझिन्छ भने सेनका हत्याराहरु अब कहिल्यै हत्याको भागीदार बन्नेछैनन् । उनीहरुलाई कारवाही हुनेछैन । सेनको स्मृति दिवस मनाइरहँदा सबै पक्षले सेनका हत्याराहरुलाई कारवाही हुनुपर्छ भनेर जोड दिने र सशक्त आवाज उठाएर राज्यलाई खरोरुपमा दबाब दिनुपर्छ । सहिद पत्रकार सेनप्रति हार्दिक श्रद्धाञ्जली ।

([email protected])