काठमाडौँ, १० जेठ । पाँच माओवादी पार्टीले संयुक्तरुपमा भूकम्पपीडितको सहयोगार्थ आजदेखि ‘उद्धार तथा जनसेवा अभियान’ सञ्चालन गरेका छन् ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सञ्चालन गरिने अभियानको काठमाडौँको मरुहिटीमा एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महरा र नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सुरुवात गर्दै भग्नावशेष हटाउने कार्यमा सहभागी हुनुभयो ।
महासचिव महराले अभियानको क्रममा भग्नावशेष हटाउने, अस्थायी बसोबासको लागि टहरा बनाउने, राहत वितरणको अनुगमन गर्ने बताउनुभयो । उहाँले आफूहरुको अभियान पुँजीमा आधारित नभई श्रममा आधारित हुने बताउँदै यसले पीडितलाई सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
उपाध्यक्ष सिपी गजुरेलले यसअघि सबै माओवादीले छुट्टाछुट्टै रुपमा उद्धार गरिरहेकामा आजदेखि संयुक्त रुपमा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अभियानका क्रममा यही जेठ २५ गतेसम्म ४५÷४५ जनाको समूह बनाई विभिन्न स्थानमा उद्धार तथा जनसेवामा खटाइने छ । पन्ध्रदिने अभियानपछि पाँच पार्टीको बैठक बसी थप उद्धार तथा जनसेवाको कार्यक्रम ल्याइने जनाइएको छ ।
अभियानअन्तर्गत टोलीले आज मरुटोलका भग्नावशेष हटाउँदै त्यहाँभित्रका सामग्री निकालेको थियो । एमाओवादी, नेकपा–माओवादी, नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा माओवादी उद्धार तथा जनसेवा अभियानमा संलग्न छन् । रासस












प्रतिक्रिया