– गणेश गिरी
पर्वत, १० जेठ । विनाशकारी भूकम्पको विपत सकिन नपाउँदै म्याग्दी जिल्लामा गएको पहिरोका कारण कालीगण्डकी नदी थुनिएको छ । उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा खसेको भीषण पहिरोका कारण मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको हो । राम्चे–९ काफलडाँडा नजिकै पहाड खसेर गएको निरन्तरको सुख्खा पहिरोले कालीगण्डकी नदी थुनिएको हो ।
राती २ बजे ठूलो पहिरो खसेपछि अहिले कालीगण्डकी नदी थुनिएको छ । पूर्णरुपमा खोला थुनिएपछि नदी किनारामा बस्दै आएका पर्वत, म्याग्दीका सर्वसाधारणहरुलाई बस्ती खाली गरी सुरक्षित स्थानमा जान प्रहरीले गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
कालीगण्डकी नदीबाट बढी प्रभावित क्षेत्र पर्वतको माझफाँट गाविस वारी बेनी बजारका बासिन्दाहरु यतिबेला बजारबाट भागदौड गरी मल्लाज गाउँ तर्फ सुरक्षित गन्तव्य खोज्दै गएका छन् ।
रातको समयमा लगातार पहिरो खसिरहेको र अँध्यारो भएका कारण नदी थुनिएको स्थानमा कोही पनि जान नसकिएको म्याग्दी प्रहरीले जनाएको छ ।
अर्को ठूलो बजार पर्वतको सेतीवेणी, धाइरिङको मिलनचोक, लस्तीबजारमा पनि उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्वतका प्रभावित बजार क्षेत्र वारीवेनी, सेतीवेणी, मालढुंगा, लस्तीबजार, मिलनचोक लगायतका बजार क्षेत्रमा प्रहरी मार्फत जानकारी गराइसकिएको र अन्य कालीगण्डकी नदी किनारमा समेत प्रहरी परिचालन नै गरेर सर्तकता अपनाउने कार्य जारी रहेको बताए ।
पर्वतको सेतीवेणी बजारमा कालीगण्डकी ए जलविद्युत परियोजनाले निर्माण गरेको बाँधका कारण यस अघि नै ५ किलोमिटर जलासय बनिसकेको छ । अहिले कालीगण्डकी थुनिएपछि पछि झनै जोखिम हुन सक्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया