फलेवास (पर्वत), ९ जेठ । उत्तरी शालिजा गाउँका बासिन्दाले लालपुर्जा बन्धक राखेर गाउँमा मोटरबाटो पु¥याएका छन् ।
शालिजा गाविस ठोट्नेरी गाउँका बासिन्दाले घरदैलो कार्यक्रमसँगै लालपुर्जा सहकारीमा बन्धक राखेर तीन किमी सडक सञ्चालनमा ल्याई छिमेकी धाइरिङ गाविसको धारापानी सडकखण्डमा जोडेका हुन् । सभासद् अर्जुनप्रसाद जोशीले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु एक लाख ५० हजार प्रदान गरेपछि घरदैलो गरी चन्दा सङ्कलन गरेर झन्डै रु डेढ लाख र अन्य रकम सहकारीमा जग्गा बन्धक राखेर ऋणमा ठोट्नेरी काउली धारापानी मोटरबाटो निर्माण गरिएको हो ।
रु ११ लाख २५ हजारको लागतमा निर्माण भएको उक्त सडक सुरुमा थोरै रकममा सञ्चालन ल्याउन सकिने सोचेर सडक निर्माण कार्य सुरु गरे पनि सोचेको रकमले एक किलोमिटर पनि पार गर्न नसकेपछि सहकारीबाट ऋण लिएर सडक निर्माण सम्पन्न गरिएको निर्माण समितिका कोषाध्यक्ष निलबहादुर पाइजाले बताउनुभयो । “काम थालनी गरियो, आफूसँग भएको पैसाले छेउ पनि खन्न सकिएन”, उहाँले भन्नुभयो, “त्यसपछि मेरै जग्गा बन्धक राखेर म्याग्दीको कुमारी सहकारीबाट रु तीन लाख ५० हजार ऋण लिएर बाटो सञ्चालन गर्न सफल भयौँ ।”
सडक निर्माण भएपछि अहिले ठोट्नेरीवासी सदरमुकाम कुश्माबजारसम्म आवतजावत गर्न सहज हुने भएको छ । यसअघि घन्टाँै लगाएर सदरमुकाम कुश्मा आउने गरेका सर्वसाधारण अहिले दुई घन्टामा नै सवारयात्रा गरेर आउन सक्ने भएका छन् । सडक निर्माणले गाउँमा उत्पादित विभिन्न तरकारीजन्य पसल सदरमुकाम कुश्माबजारसम्म निर्यात गर्न सहज हुने भएको स्थानीयवासी प्रतबहादुर पाइजाले बताउनुभयो ।
उक्त सडकको बुधबार सभासद् जोशी र कल्पना चापागार्इंले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा नेता जोशीले सडक निर्माणपछि स्थानीय उपभोक्ताले आर्थिक समृद्धिका लागि क्रान्ति गर्नुपर्ने बताउनुभयो सभासद् चापागाईंले विकासको उल्टो गति चलिरहेकाले गाउँघर खाली हुँदै गइरहेको र मानिस बढी सहरकेन्द्रित हुँदा गाउँको विकास हुन नसकेको बताउँदै युवालाई गाउँमा नै स्वरोजगार सिर्जना गरेर आयमूलक कार्यतर्फ लगाउन सुझाव दिनुभयो । रासस
















प्रतिक्रिया