काठमाडौँ, ९ जेठ । भूकम्पबाट बच्न र क्षति हुन नदिन सचेतना नै सबैभन्दा उत्तम उपाय भएको भूकम्पसम्बन्धी प्राविधिकले बताएका छन् ।
भूकम्पले पुर्याएको क्षति र त्यसपछिको अवस्थाका बारेमा आज नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रमका अधिकांश वक्ताले भूकम्पबाट बच्ने र घर निर्माणकामा चेतना अपरिहार्य भएको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले प्राकृतिक विपत्तिसँग भागेरभन्दा पनि सावधानी अपनाएर बस्नु नै उत्तम हुने बताउनुभयो । उहाँले हालैको भूकम्पले काठमाडौँ उपत्यकाका हरेक टोलमा खुला स्थान अनिवार्य राख्नुपर्ने सन्देश जनसाधारणमा प्रवाह गरेको बताउनुभयो ।
पूर्व सचिव किशोर थापाले बढ्दो सहरीकरणसँगै अग्ला भवन बन्नु आवश्य भए पनि त्यस्ता घरको संरचना र भवनसंहिताको पालना अपरिहार्य भएको बताउनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले विभागको संयोजनमा भूकम्पबाट क्षति भएका घरमा सर्वसाधारणलाई बस्ने वा नबस्ने बारेमा सल्लाह दिन द्रूत लेखाजोखा तथा मू्ल्याङ्कन भइसकेको जानकारी दिँदै जोखिममा रहेका घर भत्काउन सरकारले विज्ञको सहयोगमा काम अघि बढाएको बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्रा डा जीवराज पोखरेलले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका भौतिक संरचनालाई विश्व सम्पदा सूचीमा निर्दिष्ट मापदण्डअनुसार नै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले भूकम्पपछिको त्रासमय वातावरणमा एसोसिएसनको अगुवाइमा इन्जिनियरले स्वयम्सेवी रुपमा देखाएको उत्साहको प्रशंसा गर्दै आगामी दिनमा पनि यसरी नै सरकारलाई सहयोग गर्र्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भूकम्पबारे अध्ययनअनुसन्धान गर्दै आउनुभएका जितेन्द्र गोत्राले भवनको गुणस्तरमा सुधार नभएसम्म प्राकृतिक विपत्तिमा मानिसले क्षति नै क्षति बेहोर्नुपर्छ भन्नुभयो ।
भवन निर्माणका जानकार राजेश ढकालले अग्ला भवन निर्माणका लागि राज्यले भू–उपयोग नीति, माटो परीक्षण, भवन संहिता अनिवार्य गर्नुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया