काठमाडौं, ७ जेठ । विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न नेकपा एमालेले राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान सुरु गरेको छ ।
एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । आगामी जेठ १० गतेबाट देशैभरी परिचालन हुने स्वयम्सेवकका टोली प्रमुखलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार शपथ खुवाउनु भएको छ ।
एमालेका अनुसार १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा स्थायी कमिटीका नेतासहित १० हजार स्वयम्सेवक टोली परिचालन हुनेछन् । प्रतिनिर्वाचन क्षेत्रमा एक सय स्वयम्सेवक हुनेछन् ।
संयोजक विष्टले सिङ्गो पार्टी नै स्वयम्सेवकमा परिणत हुने बताउनुभयो । अन्य जिल्लामा पनि आवश्यकताका आधारमा स्वयम्सेवा गरिने उहाँले बताउनुभयो ।
अभियानका लागि एमालेले भूकम्प प्रभावित नभएका महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची र कोसी अञ्चलका जनशक्ति यही जेठ ९ गतेसम्म कठमाडौँमा आइपुग्न भनेको छ ।
अन्य अञ्चलका जनशक्ति सोही क्षेत्रको तोकिएको जिल्लामा केन्द्रित भई परिचालित हुनेछन् । पोलिटब्युरो सदस्य वा केन्द्रीय सदस्यले अगुवाइ गर्ने टोलीले प्रत्येक निर्वाचन क्षेत्रको बढी क्षति भएको र विपन्न मानिएको गाविस छनोट गरी त्यसलाई केन्द्र अन्य गाविसमा अभियानको सञ्चार गराउनेछन् । सो गाविसमा सबै पार्टीका कार्यकर्ता र जनताका घर बनाउन एमालेले निर्देश गरेको छ ।
पार्टीको हेलमेटसहित पोसाकमा सजिने ती टोलीले हरेक दिन बिहान ८ र साँझ ६ बजेसम्म अस्थायी आवास निर्माणको स्वयम्सेवकको हाजिरी गराउनेछ । स्वयम्सेवीले सरकार वा पीडित जनताका तर्फबाट कुनै सहयोग नलिने घोषणा गरिएको छ ।
टोलीले आवश्यक सामग्री र औजारका साथै प्रत्येक परिवारमा पुगेर स्थानीय कमिटीको समन्वयमा क्षति र स्वयम्सेवाको विवरण सङ्कलन गर्ने छन् ।
अभियानको नारा ‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्वः हरेक नेपालीको साथ’ भन्ने नारा तय गरेको छ भने ‘गाउँ गाउँबाट उठ…’ बोलको गीतलाई अभियानको गीत घोषणा गरिएको छ । एमालेले अध्यक्ष ओलीलगायत नेतालाई विभिन्न जिल्लागत अनुगमनको जिम्मेवारी तोकेको छ ।
युवा संघले आफ्ना पदाधिकारीलाई केन्द्रीय कमाण्डर तोक्यो
यस्तै, आजै युवा संघ नेपालका अध्यक्ष निरुदेवी पालको अध्यक्षतामा बसेको वैठकले १७ जिल्लामा पदाधिकारीहरुको नेतृत्वमा केन्द्रीय कमाण्डरहरु खटाउने निर्णय गरेको छ । १७ जिल्लामा युवा संघ नेपालका अञ्चल कमिटी, जिल्ला कमिटी, अन्तरजिल्ला कमिटी, क्षेत्र, नगर, गाउँ, वडा आदी कमिटीहरु केन्द्रीय कमाण्डरहरुको मातहतमा परिचालन गर्ने निर्णय पनि गरेको युवा संघका प्रवक्ता प्रभात कटुवालले जानकारी दिनुभयो ।
युवा संघले १७ जिल्लामा उपाध्यक्ष दिलु पन्तलाई लमजुङ, सुुर्य ढकाल रसुवा, राजु गुरुङ्ग मकवानपुर, गोविन्द थापा भक्तपुर, सरोज दिलु विश्वकर्मा नुवाकोट, महासचिव राजिवपहारी ललितपुर, सचिव किरण पौडेल काठमाडौ, रमेश पौडेल सोलु, अशोक चन्द दोलखा, हस्तवहादुर शाही रामेछाप, नरेशशाही ओखलढुंगा, मन्जु यादव सिन्धुली, चन्द्र लामा काभे्र, क्रान्ति वुलाकोटी धादिङ्गमा केन्द्रिय कमाण्डर तोकेको छ ।
नेकपा एमालेको यो अभियान एक महिनासम्म चल्ने छ ।













प्रतिक्रिया