भक्तपुर, ६ जेठ । संसदको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको निर्णयअनुसार भक्तपुरमा खटिएको संसदीय समूहले यस जिल्लाका भूकम्प पीडितलाई वितरण गरिएको राहत पहुँचवालाको हातमा पुगेको निष्कर्ष निकालेको छ ।
समूहले भक्तपुरका भूकम्प पीडितका बारेमा गरेको अनुगमन सकिएपछि जिल्ला प्रशासन कार्यालयमा भएको समीक्षा कार्यक्रममा समूहका संयोजक एवम् सभासद् गोपालमान श्रेष्ठले अनुगमनको क्रममा राहत पहँुचवालाको हातमा मात्र पुगेको पाइएको बताउनुभयो ।
जनप्रतिनिधि नहुँदा राहत वितरण प्रभावकारी नभएको बताउँदै उहाँले सरकारले अस्थायी बसोबासका लागि दिने भनेको रु १५ हजार अपुग भएको गुनासो पीडितबाट आएकाले तत्काल रु ५० हजार दिइनुपर्ने सुझाव सरकारलाई दिइने उल्लेख गर्नु भयो ।
सभासद् भीम रावलले घरको क्षति विवरण बुझ्न टोलटोल गएका प्राविधिकले घरभित्र नपसी बाहिरैबाट क्षति विवरण लेखेर आउँदा समस्या आएको बताउँदै कतिपय स्थानमा भने कर्मचारीलाई क्षति नभएको घरलाई क्षति भएको भनेर लेखिदिन दबाब दिएको समेत पाइएको उल्लेख गर्नु भयो ।
सेनाको व्यारेकमा राहत सामग्री थुप्रिएको, विभिन्न सङ्घसंस्थाले जथाभावीरुपमा राहत वितरण गरेको बताउँदै उहाँले राहत वितरण र विदेशी सेनाको रेकर्ड प्रशासनले राख्नुपर्ने बताउनुभयो ।
सभासद्हरु रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, कुन्ती शाहीलगायतले राहत वितरण प्रभावकारी बनाईनुपर्ने सुझाब दिनुभयो । रासस













प्रतिक्रिया