काठमाडौँ, ६ जेठ । नेपाली काँग्रेसले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित जनताको उद्धार, राहत तथा पुनःस्थापनाका काममा सक्रिय भएर लाग्न आफ्ना नेता र कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको सभापतित्वमा आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीकोे बैठकले उक्त निर्देशन दिएको हो । “हिमाल–पहाड–तराई योगदान विपत्तिको सामना गर्न हामी गर्छौ श्रमदान” भन्ने मूल नाराका साथ काँग्रेसले भूकम्पबाट कम प्रभावित जिल्ला र गाउँ नगरबाट भूकम्प प्रभावित जिल्लाका गाउँ÷नगर÷वडामा गई श्रमदान गर्न निर्देशन दिएको हो ।
बैठकमा सभापति कोइरालाले श्रमदानको लागि २५÷२५ जनाको प्राविधिक, इञ्जिनियरको टोली खडा गरी भूकम्पप्रभावित जिल्लामा अस्थायी घरटहरा निर्माण गर्न निर्देशन दिनुभयो ।
उपसभापति रामचन्द्र पौडेलले भातृ संस्थाका प्रतिनिधिलाई डाकेर प्रभावित जिल्लाका पार्टीसँग समन्वय गरी श्रमदानमा लाग्न निर्देशन दिनुभयो । टोलीमा गारो लगाउने, काठको काम गर्ने र छाना मिलाउन जान्ने सिपालु ५÷६ जना र अन्य सामान्य श्रम गर्नसक्ने व्यक्तिहरु सम्मिलित गराउने, तोकिएका जिल्ला÷गाउँमा जाने मिति र सम्पर्क व्यक्ति निश्चित गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सात दिनसम्म तोकिएको गाउँमा गएर लगातार काम गर्ने र त्यहाँका बासिन्दालाई वर्षा धान्न सक्ने भरपर्दाे टहरा वा बासस्थानको व्यवस्था गरेर फर्कनु पर्ने साथै टोलीले श्रम गर्न जाँदा आफूले खाने कुराहरु— दाल, चामल, तरकारी, नून, तेल लगायतका खाद्य सामग्रीहरुको व्यवस्था र बस्ने पाल, लुगाफाटो र भाँडाकुडा सबै साथमा लिएर जानुपर्ने भनिएको छ ।













प्रतिक्रिया