काठमाडौं, ६ जेठ । प्रधानमन्त्री राहत कोषमा माछापुच्छ्रे बैक लिमिटेडले २६ लाख ३३ हजार ७४१ रुपैयाँ ५५ पैसा सहयोग गरेको छ ।
सो सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोको पनि उपस्थिति थियो ।
– कोषमा एपेक्सको रु दस लाख सहयोग
विनाशकारी भूकम्पपीडित नेपालीलाई सघाउनका लागि एपेक्स कलेज काठमाडौँले प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा कलेजका अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सो सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण समारोहमा सञ्चारमन्त्री डा रिजालले कलेजले गत वर्ष मुलुकमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको समयमा पनि योगदान गरेको स्मरण गराउनुभएको थियो ।
– कोषमा बोर्डको रु पाँच करोड
आजै प्रधानमन्त्री राहत कोषमा नेपाल पर्यटन बोर्डले पाँच करोड रुपैयाँ योगदान गरेको छ । बोर्डका अध्यक्ष एवम् पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान प्रधानले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
– नाम्स र वीर अस्पतालको रु ३६ लाख सहयोग
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र वीर अस्पतालका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख २३ हजार ४० रुपैयाँ ३१ पैसा सहयोग प्राप्त भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
– जिटिएल टेलिकमको रु बाह्र लाख पचास हजार
आजै जिटिएल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख ५० हजार योगदान गरेको छ ।
संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वोसन सिंह राणा र कम्पनी सचिव नारायण महतले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, पेडियाट्रिक सोसाइटीले रु १२ लाख, बूढानीलकण्ठ स्कुलले रु सात लाख र गोङ्गबु आवास क्षेत्र सुधार समितिका तर्फबाट कोषमा १० लाख रुपैयाँ योगदान भएको छ ।
सो रकम समितिका अध्यक्षले प्रधानमन्त्री कोइरालालाई बुझाउनुभएको थियो ।
– ओम शान्ति परिवारको तीन लाख सहयोग
त्यस्तै, आजै ब्रह्माकुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार)ले तीन लाख ३३ हजार ३१३ रुपैयाँको चेक पनि प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो ।
















प्रतिक्रिया