बेइजिङ, ५ जेठ । चीनको राज्य परिषद्ले उत्पादन प्रबर्धनमा ध्यान केन्द्रित गरी ‘‘मेड इन चाइना सन् २०२५’’ नामक राष्ट्रिय योजना मङ्गलबार सार्वजनिक गरेको छ ।
उक्त योजना प्रधानमन्त्री ली कचियाङले सार्वजनिक गर्नुभएको यससम्बन्धी एक सूचनामा जनाइएको छ ।
‘‘मेड इन चाइना सन् २०२५’’ चीनलाई बृहत् उत्पादक मुलुकबाट विश्वको उत्पादन शक्तिको रूपमा परिवर्तन गर्ने पहिलो कार्ययोजना भएको बताइएको छ ।
दश वर्षे यस योजनापछि अर्का दुई योजना पनि आउने र तिनीहरूले चीनलाई सन् २०४९ सम्म प्रमुख उत्पादक शक्तिको रूपमा परिणत गर्ने लक्ष्य लिइएको छ । उक्त वर्ष जनगणतन्त्र चीन स्थापनाको १०० यौँ वार्षिकोत्सव हुनेछ ।
यस योजनामा नौ कार्यलाई प्राथमिकता दिइने भनी पहिचान गरिएको छ । ती दश प्राथमिकतामा उत्पादनशील नविन खोजमा सुधार, सूचना प्रविधि तथा उद्योगको एकीकरण, औद्योगिक आधारको सबलीकरण, चिनियाँ ब्रान्डको विस्तार, हरित उत्पादनमा जोड, १० प्रमुख क्षेत्रमा नविनता खोजमा प्रबर्धन, औद्योगिक क्षेत्रको पुनर्संरचनामा विस्तार, सेवा प्रदायक उत्पादन तथा उत्पादनसम्बन्धित सेवा उद्योग प्रबर्धन तथा उत्पादनको अन्तराष्ट्रियकरण परेका छन् ।
दश प्रमुख क्षेत्रमा नयाँ सूचना प्रविधि, साङ्खिक नियन्त्रण औजार तथा रोबोटिक्स, हवाई उपकरण, सामुद्रिक इन्जिनियरिङ सामग्री तथा उच्च–प्रविधियुक्त जहाज, रेलवे उपकरण, ऊर्जा बचत तथा नयाँ ऊर्जायुक्त गाडी, ऊर्जा उपकरण, नयाँ सामग्री, जैविक औषधि तथा चिकित्सा उपकरण तथा कृषि मेसिनरी परेका छन् ।
यी कार्य पूरा गर्न ‘‘मेड इन चाइना २०२५’’ ले पाँच प्रमुख परियोजनामा ध्यान केन्द्रित गरेको छ । त्यसमा उत्पादनशील नविन खोज केन्द्र स्थापना गर्ने कार्य पनि परेको सूचनामा जनाइएको छ ।
यी योजनालाई अगाडि बढाउन चीनले संस्थागत सुधार तथा वित्तीय सहयोग सबलीकरणका लागि अनेकौँ नीति प्रस्तुत गर्ने भएको छ ।
सूचनामा ‘‘मेड इन चाइना सन् २०२५’’ बजारमा आधारित हुने र त्यसलाई सरकारले निर्देशन दिने उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया