२९ आश्विन २०८३, बिहिबार

खेलकुद पूर्वाधार पुनःनिर्माणमा कुल बजेटको २० प्रतिशत विनियोजन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-cricket-Ground-Kathmandu-1

– मुना कार्की

काठमाडौँ, ५ जेठ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका खेल क्षेत्रका भौतिक पूर्वाधारको निर्माणका लागि यस क्षेत्रको कुल बजेटको १५ देखि २० प्रतिशत हिस्सा विनियोजन गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार राजधानीको एकमात्र अन्तर्राष्ट्रियस्तरको खेल मैदान दशरथ रङ्गशाला र सेमी कभर्डहलमा क्षति पुग्नुका साथै राष्ट्रिय खेलकुद परिषद्को हातामा रहेका पौडी पोखरी पूर्णरुपमा क्षति भएको छ ।

त्यसैगरी, मोफसलका झापा, वीरगन्ज, नेपालगन्ज, राजविराजलगायत सहरमा रहेका अधिकांश रङ्गशाला र कभर्डहल क्षति भएका छन् ।

उपत्यका तथा मोफसलका भूकम्प प्रभावित जिल्लाका खेल क्षेत्रका भौतिक पूर्वाधारहरुमा धेरै क्षति पुगेको देखिए पनि अहिलेसम्म कति क्षति भयो भन्ने यकिन गर्न बाँकी रहेको सचिव शर्माले बताउनुभयो ।

“पटक–पटक आएको भूकम्पबाट अहिलेसम्म के कति क्षति भएको छ, त्यसको विवरण आउन नै बाँकी छ, हामी विवरण सङ्कलन कार्यमा लागिरहेका छौँ,” सचिव शर्मा भन्नुभयो । भूकम्पका कारण ध्वस्त भएका भौतिक संरचनालाई इन्जिनियरमार्फत पुनः जाँच गराई पुनःनिर्माण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

राखेप निर्माण शाखा प्रमुख तिलोत्तमा बस्नेतले भूकम्पबाट खेलकुद क्षेत्रमा कति क्षति भएको छ त्यसको यकिन गर्न नसकिए पनि भूकम्पबाट राखेपको हातामा रहेको पौडी पोखरी भने पूर्णरुपमा ध्वस्त भएको बताउनुभयो ।

“अहिले गर्मीयाम चलिरहेको हुँदा पनि पौडी पोखरी निर्माण गर्न आवश्यक छ,” निर्माण शाखा प्रमुख बस्नेत भन्नुहुन्छ । यसको पुनःनिर्माणमा कम्तीमा रु १५ देखि रु २० करोडसम्म खर्च लाग्ने हुँदा सरकारले विशेष चासो देखाउनुपर्ने उहाँको भनाइ छ ।

राखेपका सदस्य सचिव युवराज लामाले भूकम्पबाट मोफसलभन्दा पनि राजधानीको रङ्गशालामा निकै क्षति भएको बताउनुभयो । उहाँले सातदोबाटो कम्प्लेक्समा सामान्य मर्मतले काम हुने प्राविधिज्ञहरुले बताइसकेको जानकारी दिँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र राखेप हातामा रहेको पौडी पोखरीमा सबैभन्दा धेरै क्षति पुगेको बताउनुभयो । ती दुई रङ्गशाला र पौडी पोखरी निर्माणका लागि रु ३० करोड खर्च लाग्ने सदस्य सचिव लामाको भनाइ छ ।

“आममानिस अहिले भूकम्पबाट त्रसित छन् त्यसकारण पनि खेल क्षेत्रको भौतिक पूर्वधारहरुको पुनःनिर्माण गर्न र खेल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन कम्तीमा छ महिना समय लाग्छ,” उहाँ भन्नुहुन्छ ।

विनाशकारी भूकम्पकै कारण खेल क्षेत्रका भौतिक पूर्वाधारको क्षतिमात्रै भएन देशकै लागि पसिना बगाउने खेलाडी, प्रशिक्षक तथा खेलकुद पत्रकारिताको विकासमा निरन्तर लाग्ने खेल पत्रकारलाई समेत गुमाउन परेको छ ।

भलिबल खेलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ, कराते खेलाडी चन्द्र श्रेष्ठ र प्रथम पारा ओलम्पियन खेलाडी जीतबहादुर खड्का र गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको वैशाख १२ को भूकम्पमा परी निधन भएको थियो । रासस