– विजय थापा
अमेरिका, ५ जेठ । अमेरिकी राष्ट्रपति बराक ओबामाले नेपालको पुर्नुत्थानमा र पुनर्निर्माण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सोमबार संयुक्त राज्य अमेरिकाका लागि नव नियुक्त राजदूत अर्जुनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझ्दै ओबामाले नेपालको विपत्तिमा अमेरिकोको सधै साथ रहेको बताँउदै थप सहयोग गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो-‘नेपाल हाम्रो मित्र राष्ट्र हो, मित्रलाई दुःख पर्दा अर्काे मित्रले सहयोग गर्नुपर्छ । हामीले त्यही मान्यता अनुसार नेपालमा आइपरेको विपत्तिको सामना गर्न थप सहयोग गर्छाै ।’
नेपालको दिगो आर्थिक विकास र उन्नतिको बाधक दशक लामो आन्तरिक द्वन्द्व समाधान गरी संविधानसभाको चुनाव मार्फत प्रजातान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै खुला अर्थतन्त्र अबलम्बन गरी आर्थिक अभिवृद्धिका लागि छिमेकी मुलुकहरुसँग व्यापार सम्झौता तथा दक्षिण एसियाबीच सन्नीकटताका लागि योगदान पुर्याउन सफल भएकोमा प्रशंसा समेत गर्नुभयो ।
सो अवसरमा राजदूत कार्कीले राष्ट्रपति डा. रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकार, नेपाली जनताको सन्देश सुनाउनुभएको थियो । राजदूत कार्कीले द्विपक्षीय सहयोगको अलावा नेपालले साझा हितका विभिन्न विषयहरुमा संयुक्त राष्ट्रसंघ लगायतका अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा निकट रही काम गर्दै आएको उल्लेख गर्नुभयो ।
भूकम्पपछि प्रधानमन्त्री राहत कोषमा राहत संकलन भइरहेको जानकारी गराउँदै अमेरिकाबाट जम्मा गर्ने व्यक्तिगत निजी दाताहरुले विना कर रकम जम्मा गर्न सक्ने व्यवस्था गरिदिन राजदूत कार्कीले राष्ट्रपति ओबामा समक्ष आग्रह गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
जवाफमा राष्ट्रपति ओबामाले सकारात्मक प्रतिक्रिया दिँदै सम्बन्धि अधिकारीलाई जानकारी गराउने बचनबद्धता गरेका थिए । राष्ट्रपति ओबामाले नेपालको दुःखमा सधै साथ दिन अमेरिका तयार रहेको बताउँदै केही समयमै पुनर्निर्माण टोलीलाई नेपाल पठाउने तयारी समेत भइरहेको जानकारी गराएका थिए ।


















प्रतिक्रिया