३० आश्विन २०८३, शुक्रबार

पूर्णागिरि मेलाले कारोबारमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaकञ्चनपुर, ४ जेठ । पूर्णागिरि मेलासँगै कञ्चनपुरको महेन्द्रनगर र सीमावर्ती ब्रह्मदेव बजारको कारोबारमा वृद्धि भएको छ ।

चार महिनासम्म सञ्चालन हुने मेला भर्नका लागि आउने भारतीय दर्शनार्थीका कारण कारोबारमा वृद्धि भएको हो । चैतदेखि असार महिनासम्म लाग्ने मेलामा दैनिक तीनदेखि चार हजारको हाराहारीमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । भारतीय दर्शनार्थीले यहाँबाट चीनबाट आयात गरिएका तयारी अवस्थाका कपडा, चप्पल, जुत्ता, कार्पेट, टर्च र विद्युतीय सामान खरिद गरेर लैजाने गरेका छन् ।

भारतीय वस्तुको तुलनामा चिनियाँ सामान भारतीय दर्शनार्थीले बढी रुचाउने गरेको महेन्द्रनगरस्थित सहस्त्रलिङ्ग फेन्सी स्टोरका सञ्चालक लोकराज जोशीले बताउनुभयो । “मेला नहुँदा दैनिक रु ७÷८ हजारबराबरको कारोबार हुन्थ्यो, अहिले दैनिक रु १४ देखि रु १८ हजारसम्मको कारोबार हुने गरेको छ” उहाँले भन्नुभयो ।

पूर्णागिरिको दर्शनसँगै सिद्धबाबाको दर्शन गरेमात्रै मनोकामना पूरा हुने जनविश्वसका साथ भक्तजन यहाँ प्रत्येक वर्ष आउने गर्छन । सिद्धबाबाको दर्शनसँगै उनीहरु ब्रह्मदेव बजारबाट विभिन्न वस्तु किनमेल गर्छन् । मौसमी बजारका रुपमा चिनिने ब्रह्मदेव बजारका व्यापारीले यसै अवसरमा बढी कारोबार गर्ने गरेका छन् । वर्षायाममा ग्राहक नआउने भएकाले खासै कारोबार हुँदैन ।

यसैगरी, महेन्द्रनगर बजारमा रहेका सानादेखि ठूला होटलको पनि कारोबरमा वृद्धि हुने गरेको छ । दर्शनार्थीले शुद्ध साकाहारी खाना खाने हुनाले साकाहारी होटलको कारोबारमा वृद्धि हुने गरेको व्यवसायीहरु बताउँछन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव हेमराज जोशीका अनुसार ब्रह्मदेव र महेन्द्रनगरमा गरी दैनिक रु तीन करोड बढीको कारोबार हुने गरेको छ । रासस