– सुमन घिमिरे
उर्लाबारी, ४ जेठ । चर्च व्वाईज युनाईटेड काठमाडौंले मोरङको उर्लाबारीमा सञ्चालित चौथो मदन भण्डारी स्मृति गोल्कडपको उपाधि उचालेको छ ।
उर्लाबारीको मंगलबारेस्थित सालबारी सामुदायिक बनको खेल मैदानमा आईतबार भएको फाइनल भीडन्तमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीको टिमलाई २–० गोलले हराउँदै चर्च व्वाईजले उपाधि उचालेको हो ।
चर्च व्वाईजलाई उपाधि दिलाउन पहिलो हाफको ३४ औ मिनेटमा सुमन लामाले तथा दोस्रो हाफको ३३ औ मिनेटमै राजिव गुरुङले गोल गरेका थिए । खेलमा दोस्रो हाफमा भने आयोजकले चर्च व्वाईजविरुद्ध दवाव बढाएपनि गोल गर्न भने सकेन ।
प्रतियोगितामा आयोजक टिमका रुपेश तामाङले म्यान अफ द सिरिजको उपाधि पाएका थिए । उपाधिसँगै चर्च व्वाईजले १ लाख ५० हजार रुपैया सहित ट्रफी हात पारेको छ भने उपबिजेतामा सीमित आयोजक टिमले १ लाख सहित ट्रफी प्राप्त गरेको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीद्धारा आयोजित प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको समापनका अवसर नेकपा एमालेकी उपाध्यक्ष एवम् प्रतिष्ठानकी संरक्षक तथा स्व.मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उहाँले देशमा भएको भूकम्पको पीडा कम गर्न र मदन भण्डारीको स्मरणलाई ताजा राख्न गरिएको गोल्डकपको प्रशंसा गर्नुभयो । साथै उहाँले मंगलबारेस्थित सालबारी खेल मैदानलाई रंगशालाका रुपमा अगाडि बढाउन आफुले सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा, पूर्व फुटबल खेलाडीहरु सन्तोष वानियाँ, दिपेन्द्र धिमाल, तेजबहादुर थापा, ललित अधिकारी, जंगबहादुर थापा, विक्रमबहादुर धिमाल, महेन्द्र श्रेष्ठ, रुद्र राई, रतन धिमाल, दयाराम धिमाललाई सम्मान समेत गरिएको थियो ।
















प्रतिक्रिया