
काठमाडौँ, ३ जेठ । एकीकृत नेकपा (माओवादी) लगायत पाँच माओवादी घटकले भूकम्प प्रभावित क्षेत्रमा अभियानको रुपमा श्रम शिविर चलाउने भएको छ । भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्कालका लागि अस्थायी आवासस्थल निर्माण गर्न सो शिविर चलाउन लागिएको उनीहरुले बताएका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको पाँच माओवादीको संयुक्त बैठकले भूकम्पबाट धेरै प्रभावित १४ जिल्लामा विशेष रुपमा पुनःनिर्माणका लागि श्रम शिविर चलाउने निर्णय गरेको हो । सो शिविरमा पाँचवटै माओवादीका शीर्ष नेता तथा कार्यकर्ता अभियानात्मक रुपमा खटिने छन् ।
सो अभियानमा प्राविधिक, इन्जिनियर, ओभरसियर, भूगर्भशास्त्रीहरुको समेत सहभागिता रहनेछ । माओवादीले मनसुन अगावै भूकम्प प्रभावित जनतालाई अस्थायी आश्रयस्थल बनाउनका लागि त्यसखालको शिविर सञ्चालन गर्न लागेको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले राससलाई जानकारी दिनुभयो ।
कुन जिल्लामा कुन–कुन शीर्ष नेता कसरी खटिने भन्ने विषयमा सोमबार बस्ने बैठकले पूर्णरुपमा कार्ययोजना बनाउने उहाँले जानकारी दिनुभयो ।
यस्तै बैठकले पाँचवटै पार्टीका विद्यार्थी तथा युवा सङ्गठनलाई पनि भूकम्प प्रभावित जिल्लामा एकीकृत रुपमा परिचालन गर्ने निर्णय गरेको छ । मनसुन अगावै अस्थायी आवासस्थल निर्माणका लागि जिल्ला पार्टीलाई परिचालन गरिसकेको माओवादी घटकले भूकम्पले प्रभाव नपारेका अन्य जिल्लाबाट समेत नेता तथा कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । शीर्ष नेताको नेतृत्वमा परिचालित हुने एकीकृत टोलीले हरेक जिल्लामा प्रभावकारी रुपमा पुनःनिर्माण गर्ने निर्णय गरिएको महासचिव थापाको भनाइ छ ।
कतिपय जिल्लामा राहतका नाममा जनतालाई केही थान बिस्कुट र चाउचाउमात्रै वितरण गरिएको भन्दै सरकारलाई तत्काल प्रभावकारी रुपमा राहत उपलब्ध गराउन आग्रह गरिएको नेकपा (माओवादी)का संयोजक मातृका यादवले जानकारी दिनुभयो ।
बैठकमा एमाओवादी अध्यक्ष दाहालले विभिन्न जिल्लाको स्थलगत अनुगमनका क्रममा देखेको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । यसअघि एकीकृत नेकपा माओवादीले कार्यकर्ता खटाएर भूकम्प पीडितका लागि पाँच सय घर निर्माण गरेको थियो ।















प्रतिक्रिया