कायरो, ३ जेठ । इजिप्टको अदालतले इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
शनिबार इजिप्टको अदालतले सो सजाय सुनाएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार पूर्व राष्ट्रपति मोर्सीलाई जेल तोडेको र इजिप्टमा आतङ्क मच्चाएको आरोपमा सो सजाय सुनाइएको हो ।
उहाँसहित उहाँको दलका १०० जना समर्थकलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०११ मा भएको प्रजातन्त्रको आन्दोलनका क्रममा उहाँ र ती कार्यकर्ताले जेल तोडेर भागेको आरोप उनीहरुलाई लगाइएको छ ।
शनिबार सो सजाय सुनाउँदा उहाँका पार्टीका कार्यकर्तासहित उहाँ अदालतमा नै उपस्थित हुनुहुन्थ्यो । उहाँमाथिको मृत्युदण्डको सजाय सुनाउने क्रममा पूर्व राष्ट्रपति मोर्सीले उक्त निर्णयको विरोध गर्नुभएको थियो ।
त्यस बेला उहाँ अदालतमा रहनुभएको र न्यायाधीशले सो सजाय सुनाउदा आफ्ना दुबै मुड्की उचालेर सो फैसलाप्रति विरोध जनाउनुभएको थियो ।
कतिपय मुस्लिम कानुनहरु मुस्लिम धर्मगुरु वा मुस्लिम धर्म कानुनका व्याख्याताको हातमा पनि हुने गर्दछ । यो फैसलापछि पनि उनीहरुले यसमा पुनव्र्याख्या गर्नेछन् ।
त्यसैले यस सजायका बारेमा पनि ती धर्म गुरुको बारेमा सुझाव लिने काम उक्त अदालतले गर्नेछ । उक्त परामर्शपछि सो अदालतले अन्तिम फैसला भने आगामी जुन २ मा सुनाउने छ ।
मोर्सीमाथिको सुनुवाइका क्रममा गत बिहीबार नै उहाँमाथि मृत्युदण्डको कानुन सुनाउनसक्ने सङ्केत अदालतले दिएको थियो ।
सो अदालतले उहाँलाई जेल तोडेर भागेको वा अरु पनि कयौँ व्यक्ति भगाएको तथा उहाँका अरु साथीलाई भने सरकारका विरुद्धमा गुप्तचर गरेको आरोपमा सो सजाय सुनाउने तयारी गरिएको हो ।
सन् २०११ मा उहाँको नेतृत्वमा इजिप्टमा प्रजातन्त्रका लागि आन्दोलन भएको थियो । सो आन्दोलनपछि उहाँ सत्तामा आएर संविधानसभाको निर्वाचन गराउनुभएको थियो ।
सो निर्वाचनमा उहाँको दलले लगभग दुई तिहाई मत हासिल गरेपछि सत्तामा रहनुका साथै उहाँकै पहलमा नयाँ संविधान पनि निर्माण भएको थियो ।
पछि उहाँलाई करिब दुई वर्षमात्र अघि त्यहाँको सेनाले सत्ताच्युत गरी जेल हालेको हो । उहाँ विगत लामो समयदेखि नै सैनिक हिरासदमा रही आउनुभएको छ । रासस/एएफपी















प्रतिक्रिया