सोमबारकै निर्णय अनुसार मंगलबार (बैशाख २९ गते ) बिहानै एउटा टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिन्धुपाल्चोकतर्फ लागियो । सविना कोइराला, म र क्यामरापर्शन रोज लामासहित दलित महिला संघ (फेडो)को टिमपनि संगै भूकम्पपीडितका लागि राहत वितरण गर्न जाने कार्यक्रम तय भएको थियो । अन्तिममा सबिनाजीको बिदा मिलेन । हामी ९ जना साथीहरु भूकम्पले आहत भएको दलितबस्तीहरुको बास्तविकता रिपोटिङ्ग गर्ने तथा भूकम्पपीडितका लागि राहत वितरण गर्ने उद्देश्यले सिन्धुपाल्चोक लाग्यौं ।
भयंकर आवाजसहित भूकम्पको धक्का शुरु भयो । हेर्दाहेदै हामी उभिएको चौर भन्दा लगभग ५० मिटर अगाडिको सिंगो पहाड धुँवाको मुस्लो उडाउँदै खस्न थाल्यो । हामी उभिएको चौर भन्दा लगभग १५ मिटर पछाडिबाट ढुंगैढुंगाको पहाड झर्न थाल्यो । हामी उभिएकै जमिन समेत चिरा पर्न थाल्यो । वरिपरिका घरहरु भूकम्पको धक्कासँगै धुलोको मुस्लोमा विलय भए ।
बिहान साँढे ९ बजे सिन्धुपाल्चोकको सागाँचोक स्थितसिम्लेमा खाना खाएर अगाडि बढ्यौँ । १२ गतेको भूकम्पले क्षतविक्षत बनाएको विकट कच्ची बाटो पार गर्दै दिउँसो १२ बजेर ४० मिनेटमा बतासे गाबिसको अत्यन्तै विकट सुनारडाँडामा पुग्यौं । १२ गतेको भूकम्पले भग्नावशेषमा परिणत भएका बस्तीहरु नियाल्दै मात्र थियौं । त्यति नै बेला भयंकर आवाजसहित भूकम्पको धक्का शुरु भयो । हेर्दाहेदै हामी उभिएको चौर भन्दा लगभग ५० मिटर अगाडिको सिंगो पहाड धुँवाको मुस्लो उडाउँदै खस्न थाल्यो । हामी उभिएको चौर भन्दा लगभग १५ मिटर पछाडिबाट ढुंगैढुंगाको पहाड झर्न थाल्यो । हामीबीचमा थियौं । दुबैपट्टिबाट पहाड खसिरहेका थिए । हामी उभिएकै जमिन समेत चिरा पर्न थाल्यो । माथिबाट खसेका स–साना ढुंगाहरु हामी उभिएकै ठाउँमा आउन थाले । वरिपरिका घरहरु भूकम्पको धक्कासँगै धुलोको मुस्लोमा विलय भए । रोज भाईले साहसिक रुपमा दृश्यलाई भिडियो क्यामरामा कैद गर्ने प्रयास गरिरहेका थिए । तरपनि उभिएर दृश्य खिच्न सक्ने अबस्था थिएन । हामीसंगै गएका सबैजना रुँदै र चिच्चाउँदै जमिनमा लडिरहेका थिए । जमिनको असाधारण कम्पनले हामी सबैलाई बुरुक्क बुरुक्क उफारी रहेको थियो । लगभग ४० सेकण्ड जतिमा भूकम्पको पहिलो कम्पन रोकियो । तर पनि वरिपरिबाट अग्लाअग्ला डाँडाहरु झर्ने क्रम रोकिएको थिएन । आँखाले देखेजति घरहरु धुवाँको मुस्लो उडाउँदै ढलिरहेका थिए । राहत लिन जम्मा भएका स्थानियहरु पनि कोेकोहोलोसँग चिच्याउँदै, रुँदै र कराउँदै भूईंमा लडिरहेका थिए । हाम्रो टिममा रहेका सबै सदस्यहरुलाई नियाले । दलित महिला संघकी महासचिव कला स्वर्णकार, बरिष्ठ केन्द्रिय सदस्य रेनु सिजापती लगायत अन्य स्वयंसेवकहरु सबैजनाका आँखाबाट आँशुका बलिन्द्र धारा रोकिएका थिएनन् । हामी सकुशल छौं भनेर काठमाडौंमा सम्पर्क गर्न खोजें तर कतै फोन लागेन ।
हामी सिन्धुपाल्चोक गएका कारण सबै आफन्त चिन्तित हुनु स्वभाविक थियो । र, हामी पनि घर परिवारको खबर पाउन आतुर थियौं । तर टेलिफोन सम्पर्क भएको थिएन् । वरिपरिबाट पहाड खसेको आवाज एकोहोरो आइरहेका थियो । केटाकेटीहरु ठूलो ठूलो स्वरमा रुँदै थिए । धुँवा र धुलोले सिंगो गाउँ ढाकेको थियो । गाउँलेहरुको चिच्याहट र क्रन्दनको आवाजले वाताबरण झनै भययित भैरहेको थियो । त्यतिनै बेला धनगढीबाट मेरो पोष्टपेड मोबाइलमा भाई खेम जोशीको फोन आयो । हामी सकुशल रहेकोे बताएँ । र, घर परिवारलाई यो खबर भनिदिन आग्रह गरेँ । त्यतिबेला पोष्टपेड मोबाइलले भने काम गर्न थालेको थियो । प्रीपेड मोबाइलले काम नगरेकाले हाम्रो टिमका सबै सदस्यका आफन्तलाई मेरै मोबाइलबाट सम्पर्क गरियो । हामी र हाम्रा आफन्त सबै सकुशल भएको खबर पाएपछि हामी सम्हालिने प्रयास गर्दै थियौँ । त्यति नै बेला भूकम्पको पुनः अर्को शक्तिशाली धक्का सुरु भयो । दोस्रो धक्काले हामी उभिएको चौर र बाटो एक फिट जति चिरियो, हेर्दाहेदै बाटोको छेउको भाग धस्सिएर गयो ।
अहिले त्यो क्षण सम्झँदा मुटु नै काम्छ । हामी केहीबेर त्यहाँ पुग्नेहरु त यतिधेरै आत्तियौँ । झन् भूकम्पबाट थिलोथिलो भएको सिन्धुपाल्चोकबासीको अवस्था कस्तो होला ?
हामी जुन कामका लागि सिन्धुपाल्चोक गएका थियौं, त्यो पूरा नहुने त निश्चित भयो, अब कसरी सुरक्षित रुपमा काठमाडौं फर्किने भन्ने चिन्ताले हामी सबैलाई सताएको थियो । बाटोमा खसेको पहिरो पान्छाउँदै फर्किने निधो गर्यौँ । सहयोगका लागि गाउँलेहरुलाई आग्रह गर्यौँ । उनीहरुकै साहयोगले कुटो, कोदालो, झम्पल र बन्चरोको सहायताले ठाउँठाउँमा खसेको पहिरो र ढलेका रुखहरु हटाउँदै करिब २ घण्टामा नौबिसे भन्ने स्थानमा आइपुग्यौँ । नौबिसे आइपुगेर जलबिरेतर्फ हेर्दा पूरै पहाड धुँवाको मुस्लोमा रुमलिएको थियो । भूकम्पपछिको पहिरोको कारण बाह्रबिसे सडक खण्ड पूर्ण रुपमा ध्वस्त भएकाले त्यो बाटो नजान नौबिसेबासीले हामीलाई आग्रह गरे । बरु सानो सानो पहिरो पन्छाउँदै सदरमुकाम चौताराको बाटो हुँदै फिर्ता हुन सुझाव दिएका थिए । राहत वितरणका लागि त्यहाँ पुगेका विभिन्न संघसंस्थाका ९ वटा बलेरो र टाटा सुमोमा रहेका साथीहरुसंग सल्लाह गर्यौँ । सबैजना चौताराको बाटो फर्कन सहमत भयौं र अगाडि बढ्यौँ । लगातार भूकम्प आइरहेकोे थियो । त्यसलाई वास्ता नगरी पहिरो पन्छाउँदै हामी अगाडि बढ्यौँ । ठाउँठाउँमा घरहरु भत्किएर बाटो छेकेका थिए । तर पनि हामी १० बटा गाडीमा झण्डै १०० जना जति थियौं । सबैले मिलेर ती भग्नावशेषहरु पन्छाउँदै बेलुका ६ बजे सदरमुकाम चौतारा आइपुग्यौं । घरहरु ढलेर चौतारामा प्रवेश गर्ने बाटो रहेनछ । बजार बाहिरको बाटो हुँदै हामी इखु बजार हुँदै अगाडि बढ्यौँ ।
बाटोमा हुँदा म काठमाडौं र तेह्रथुममा रहेका आफन्त र मित्रहरुसँग निरन्तर सम्पर्कमा थिएँ । काठमाडौंबाट साथी अनमोल शर्माले फोन गरेर भूकम्पको केन्द्रबन्दु सिन्धुपाल्चोक र दोलखा भएको र राहत वितरण गर्न गएका थुप्रै मानिसहरु हराइरहेकाले सुरक्षित रहन सुझाव दिनुभयो । झनै डर लाग्यो । दलित महिला संघ कि अध्यक्ष दुर्गा दिदीले टेलिफोन गरेर सुरक्षित बस्न सल्लाह दिनुभयो । साथीहरु सुनिल कोइराला, आनन्द पौडेल, सिद्धराज उपाध्याय, धिरज भाई, बहिनी संगिता तिमल्सिना लगायत थुप्रै साथीहरुलाई हामी सिन्धुपााल्चोक गएको थाहा थियो । भूकम्पको केन्द्रविन्दु दोलखा र सिन्धुपाल्चोक नै भएको र सो क्षेत्रमा ठूलो क्षति भएको खबरले उहाँहरुले टेलिफोन गरेर निरन्तर हामी र हाम्रो टिमबारे चासो राखिरहनु भयो । हामी सकुशल रहेको खबर दिँदादिँदै दोलालघाट आइपुग्यौँ । करिब बेलुकाको ७ बजेको थियो । त्यहाँ आइपुगेपछि भने सबैको अनुहारमा खुसीको धर्सा पढ्न सकिन्थ्यो । सबैजनाको एउटै भनाइ थियो – मृत्युको मुखबाट बचेर आइयो । त्यहाँ एकैछिन आराम गरेर हामी सुरक्षित रुपमा काठमाडौंका लागि प्रस्थान गरौँ ।
अहिले त्यो क्षण सम्झँदा मुटु नै काम्छ । हामी केहीबेर त्यहाँ पुग्नेहरु त यतिधेरै आत्तियौँ । झन् भूकम्पबाट थिलोथिलो भएको सिन्धुपाल्चोकबासीको अवस्था कस्तो होला ? शब्दमा वर्णन गर्न मुश्किल छ ।














प्रतिक्रिया